
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)बीचको एकता प्रक्रिया अन्तिम टुंगोमा पुगेको बताइए पनि जसपाभित्र गम्भीर मतभेद देखिएको छ ।
पार्टीका कार्यकारी अध्यक्ष अशोक राईले एकताको स्पष्ट रूपमा विरोध गर्दै नेकपासँग कुनै वार्ता वा संवाद नगर्न नेताहरूलाई निर्देशन दिएका छन् । उनले एकताको पक्षमा रहेका नेताहरूसँग निरन्तर छलफल गर्दै पहिचानवादी शक्तिसँग मोर्चाबन्दी वा गठबन्धन गरेर अघि बढ्नुपर्ने धारणा अघि सारिरहेका छन् ।
संघीय अध्यक्ष राजेन्द्र श्रेष्ठले भने एकता प्रक्रियालाई अघि बढाएका छन् । उनीसहित परशुराम बस्नेत, रणध्वज कन्दङवा लगायतका नेताहरू नेकपासँग समन्वय र आन्तरिक गृहकार्यमै केन्द्रित रहेका स्रोतले जनाएको छ । श्रेष्ठले राईसँगको छलफलमा उल्लेख्य प्रगति नआएको बताउँदै एकता वार्ता धेरै अघि बढिसकेको दाबी गरेका छन् ।
त्यस्तै पार्टी उपमहासचिव प्रदीप यादवले जसपाले उठाएका मुद्दामा नेकपा पूर्णरूपमा सहमत भए एकतामा जान सकिने बताएका छन् । ‘हामीले राखेका मागमा नेकपा तैयार छ भने हामी एकताको पक्षमै छौँ,’ यादवले भने ।
यसैबीच, नेकपासँगको एकताप्रति जसपामा आन्तरिक मतभेद चर्किँदै गएकाले पार्टी फुटको संकेत देखिएको छ । राई प्रस्ट विरोधमा उभिरहेका बेला श्रेष्ठ एकता प्रक्रियाको अन्तिम चरणमा छन् ।