
काठमाडौँ । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभा आज हुने भएको छ ।
काठमाडौँको राष्ट्रिय सभागृहमा दिउँसो साढे १२ बजे एकता घोषणा सभा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा बाबुराम भट्टराईले स्थापना गरेको र हाल दुर्गा सोबले नेतृत्व गरेको जसपा (नयाँ शक्ति), जनार्दन शर्माको पहलमा स्थापना गरेको र हाल सुदन किराँतीले नेतृत्व गरेको प्रगतिशील लोकतान्त्रिक पार्टी, रास्वपा परित्याग गरेका विघटित प्रतिनिधि सभा सदस्य सन्तोष परियार नेतृत्वको टोलीसँग एकता घोषणा हुन लागेको हो ।
यसअघि उनीहरुबीच एकताको सहमति पत्रमा हस्ताक्षरसमेत भइसकेको छ । त्यही सहमति अनुसार आज सार्वजनिक सभा गरेर एकता घोषणा गर्न लागिएको हो । एकता घोषणापछि पार्टीमा थोरै समूहको अध्यक्ष परिषद् बनाइने भएको छ ।
तीन पक्ष मिलेपछि पार्टीको नाम प्रगतिशील लोकतान्त्रिक पार्टी हुनेछ । पार्टी संरक्षकमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई रहने छन् भने माओवादी पूर्व उपमहासचिव जनार्दन शर्मा पार्टीको कार्यकारी भूमिकामा रहने छन् ।