२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

मिसिल खोज्दै सर्वोच्च अदालत

shivam cement
सपना बोहरा
२०८२ मंसिर ८ गते ०८:३७
Shares
मिसिल खोज्दै सर्वोच्च अदालत

काठमाडौं : विगतमा प्रायः भिडभाड हुने सर्वोच्च अदालत हिजोआज शान्त छ । खण्डहर बनेको छ, भग्नावशेषजस्तै छ । 

कम्प्युटर, प्रिन्टर र मिसिल राखिएका दराजका अस्थिपञ्जर मात्रै छन् । अदालतभित्र वर्षौं पुराना मिसिल जलेर खरानीमा परिणत छन् । न्यायाधीशका नाम लेखिएका ढोकाबाहिर निसानी छन् तर पीडित र पीडकका बहस गर्ने इजलास छैनन् । 

२४ भदौमा सर्वोच्च अदालतसहित देशका धेरै संरचनामा आगजनी र तोडफोड भएको थियो । क्षति भएकै भवनबाट सर्वोच्च अदालतले सेवा भने दिइरहेको छ । सेवा सुरु गरे तापनि मिसिल कागजातको अभावले अप्ठ्यारो परेकै छ । यसकारण अदालत नष्ट भएका  मिसिल खोज्दै छ । यसअन्तर्गत अदालतले नष्ट भएका मिसिल कागजातको प्राप्तिका लागि मुद्दाका पक्ष, कानुन व्यवसायी, महान्यायाधिवक्ताको कार्यालय, सरकारी वकिल कार्यालय, नेपाल बार एसोसिएसनलगायतका निकायहरूमा अनुरोधसमेत गरेको छ । 

हाल सर्वोच्च अदालतमा नयाँ पुराना मिसिल राखेका दराजभित्र खरानी मात्र छन् । 

रिट, तारेख, बहस अनि फैसला गर्नुपर्ने समयमा गत भदौ २४ गते जेनजी समूहले गरेको आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट भएका मिसिल सर्वोच्च अदालतले खोजिरहेको हो ।  

अदालतमा चालु अवस्थामा रहेका र फैसला भई फैसलाको पूर्णपाठ तयार गर्न बाँकी रहेका मुद्दाका मिसिल जलेर पूर्ण रूपमा नष्ट भएको अदालतले जनाएको छ । 

मुद्दाका मिसिल प्राप्ति र प्रमाणीकरण गरी कानुनबमोजिम कारबाही र सुनुवाइ प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले मुद्दाका पक्षसँग मिसिल उपलब्ध गराउन अनुरोध गरिएको अदालतका सूचना अधिकारी तथा सहायक प्रवक्ता निराजन पाण्डेले बताए । 

मुद्दाका पक्षहरू, निजहरूले मुकरर गरेका कानुन व्यवसायी, महान्यायाधिवक्ताको कार्यालय तथा सरकारी वकिल कार्यालय, नेपाल बार एसोसिएसन तथा सम्बद्ध इकाइ र अन्य सम्बद्ध सरोकारवाला निकायमा विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरणसम्बन्धी निर्देशिका, २०८२ को दफा ५ बमोजिम अनुरोध गरिएको उनले बताए । 

त्यसका लागि अदालतले ६० दिनभित्र उपस्थित भएर मुद्दाका मिसिलहरू उपलब्ध गराउन अदादलले सम्बन्धित पक्षसँग अनुरोध गरेको छ । 

आठ वर्षभन्दा पहिला फैसला भएका मुद्दा खरानी भएर नष्ट भएको उनको भनाइ छ ।  ‘सिस्टममा भएका इजलासमा भएका मुद्दा निर्देशिका बनाएको छ । प्राप्ति र प्रमाणीकरण गरेर त्यसैलाई आधार मानेर मुद्दाको फैसला गर्छौं,’ उनले भने । पाँच वर्षयताका केही फैसला गर्न बाँकी रहेका मुद्दा पनि जलेर नष्ट भएको उनले बताए । 

जेनजी प्रदर्शनका क्रममा देशभरका २३ अदालतमाथि आगजनी र क्षति भएको छ ।  जसबाट करिब ९ लाख ३३ हजार मुद्दा जलेर नष्ट भएको अदालतको अनुमान छ । आगजनी र तोडफोड गरिएका सबै अदालतमा गरी चालुतर्फ ३० हजार ७ सय ५२ र अभिलेखतर्फ ९ लाख ३ हजार ७१ मिसिल गुमेको सर्वोच्च अदालतले जनाएको छ । 

सर्वोच्चमा चालु अवस्थामा रहेका २४ हजार २ सय ३४ थानमध्ये २० हजार ३४ मुद्दाको मिसिल जलेर नष्ट भएका छन् । जलेका ती मिसिल अदालतले खोजिरहेको छ । 

जेन जी’ आन्दोलनका कारण व्यापक विध्वंश बेहोरेको सर्वोच्च अदालतले प्रांगणमा पाल लगाएर मिसिल संकलन गरिरहेको छ । 

ADV

सम्बन्धित खबर