२०८२ मंसिर ९ गते मङ्गलवार / Nov 25 , 2025 , Tuesday
२०८२ मंसिर ९ गते मङ्गलवार
Ads

रोकिएन महिला हिंसा, डरलाग्दो ग्राफ

shivam cement
अस्मिता बम
२०८२ मंसिर ९ गते ०६:४५
Shares
रोकिएन महिला हिंसा, डरलाग्दो ग्राफ

काठमाडौं : आफ्नै २५ वर्षीया श्रीमती सीता सुनारको हत्याको अभियोगमा रोल्पाको परिवर्तन गाउँपालिका–१ घर भएका २३ वर्षीय सन्जु सुनार पक्राउ परे । सुनार दम्पती घोराही उपमहानगरपालिका–१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्थे । कात्तिक ३० गते सामान्य विवाद बढ्दै जाँदा सन्जुले श्रीमतीको हत्या गरे । 

करिब तीन वर्षदेखि लिभिङ टुगेदरमा बस्दै आएका भारत उत्तर प्रदेश सिद्धार्थनगर चिल्हिया थाना घर भएका ३५ वर्षीय हफिजुल्लाह मुसलमान आफ्नी ४० वर्षीया प्रेमिकाको घाँटी डोरीले कसेर हत्या गर्ने प्रयासमा पक्राउ परे । गत असोज ३१ गते बुटवलबाट फर्कंदा मुसलमानको मोबाइलमा रहेका तस्बिर प्रेमिकाले मुसलमानकी श्रीमतीको मोबाइलमा पठाइदिएपछि परिवारमा तनाव उत्पन्न भयो । सोही रिसकै कारण उनले हत्या योजना बनाएको खुलेको कपिलवस्तु प्रहरीले जनाएको छ । कात्तिक १५ गते कपिलवस्तु नगरपालिका–४ लौसा गाउँनजिक तौलिहवा–बहादुरगन्ज सडकखण्डमा युपी ५५ एबी ६९७९ नम्बरको कारभित्र हत्या प्रयास भइरहेको देखेपछि सो बाटो हुँदै गइरहेका एक ट्रक चालकले तत्काल मुसलमानलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । 

दाङको गढवा गाउँपालिका–७ मानपुर बस्ने २१ वर्षीयकुमार विक ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मंसिर ६ गते साँझ पक्राउ परे । कुमारले ती बालिकालाई ललाइफकाइ जबरजस्ती गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । 

यी त प्रतिनिधि घटना मात्र हुन् । समाजमा दैनिक दजनौं महिला हिंसाका यस्ता घटना भइरहेका छन् । महिला र बालबालिकामाथि भएका अपराधको पाँचवर्षे तथ्यांक केलाउने हो भने नेपाली समाजमा महिलामाथि गरिने व्यवहार निकै क्रुर देखिन्छ । थुप्रै कानुन बने पनि महिला बेचबिखन, बहुविवाह, बालविवाह, जबरजस्ती करणी, बालयौन दुराचार र घरेलु हिंसा घटेको छैन । बितेका पाँच वर्षमा महिला बेचबिखन तथा ओसारपसारका मात्र ६ सय ९७ घटना घटेका छन् । २०७७/७८ मा १ सय २२, २०७८/७९ मा १ सय ३६, २०७९/८० मा १ सय ५०, २०८०/८१ मा १ सय ५१ र २०८१/८२ मा १ सय ३८ महिला बेचबिखन र ओसारपसारमा परेको प्रहरीको तथ्यांक छ । यही अवधिमा बहुविवाहका ३ हजार ५ सय ८७ र बालविवाहका ३ सय १ घटना रहेका छन् । बहुविवाह बर्सेनि केही घटेको देखिए पनि अनुुसन्धानको दायरामा आएको बालविवाह उस्तै छ । २०७७ देखि बहुविवाह क्रमशः ८ सय ५२, ८ सय ९, ७ सय २३, ६ सय ५३, ५ सय ६८ भएको देखिन्छ भने प्रहरी रेकर्डमा बालविवाहका ८४, ५२, ५२, ५२ र ६१ घटना घटेका छन् । 

त्यस्तै, जबरजस्ती करणीका १२ हजार बढी घटना रहेका छन् । पाँच वर्षको अवधिमा १२ हजार ६१ जबरजस्ती करणीका घटना घटेको प्रहरीको तथ्यांकले देखाएको छ । यसलाई वार्षिक रूपमा हेर्दा २०७७/७८ मा २ हजार ५ सय ३४, २०७८/७९ मा २ हजार ३ सय ८०, २०७९/८० मा २ हजार ३ सय ८७, २०८०/८१ मा २ हजार ५ सय ७ र २०८१/८२ मा २ हजार २ सय ५३ वटा घटना भएका छन् । 

प्रहरीको पाँच वर्षकै तथ्यांक हेर्दा जबरजस्ती करणी उद्योगका २ हजार ८ सय २७, बालयौन दुरुपयोगका १ हजार ६ सय ५४, यौन दुव्र्यवहारका पाँचवटा घटना रहेका छन् । यो अवधिमा महिलामाथि लागेको बोक्सीको आरोपका घटना २ सय ५ छन् । घरेलु हिंसाका घटना संख्यामा जम्मा पाँचवटा मात्र दर्ता भएको तथ्यांकमा उल्लेख छ । 

प्रहरीको महिलासँग हुने अभद्र व्यवहार, हिंसा, करणी, बेचबिखनलगायतका तथ्यांक हेर्दा घटनाको संख्या घटेजस्तो देखिए पनि समाजमा महिलामाथि हुने अत्याचारका घटनामा कमी नआएको राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता टीकाराम पोखरेल बताउँछन् । उनका अनुसार पछिल्लो समय महिलामाथि हुने हिंसाको स्परूपमा परिवर्तन भएका कारण प्रहरीमा उजुरी कम परेको तर समाजमा घटना भने घटिरहेकै हुन्छन् । 

‘संख्यात्मक रूपमा महिलामाथिका घटना घटेकै भन्न मिल्दैन । कतिपय घटना घरभित्रै दबाइन्छन् । तथ्यांकमा आउने कुरा भएन । स्वरूपमा परिवर्तन भएको हो,’ उनी थप्छन्, ‘पहिला कुट्ने, घरबाट निकालिदिनेजस्ता घटना देखिन्थे भने अहिले सेक्सुअल ह्या¥यासमेन्ट, मनोवैज्ञानिकतवरले, आर्थिक कुरा छन् । सामाजिक रूपमा केही गर्न बाध्य बनाउने त्यस्ता घटना छन् अहिले ।’

महिला अधिकारकर्मी अधिवक्ता बिनु लामा पारिवारिक बन्धनमा बाँधिएकी महिला आफ्नो परिवार, बालबच्चाका लागि, सम्बन्धमा दरार नआओस् भन्न आफूमाथि भइरहेको हिंसा सहेर बस्ने गरेको बताउँछिन् । प्रहरीमा घरेलु हिंसाका उजुरी कम पर्नुको मुख्य कारण नै यही भएको उनको विश्लेषण छ । समाजिक रूपमै महिलामाथि पहिलेबाटै दमन भइरहेको र त्यहीअनुसारको मानसिकता विकास भइसकेका कारण पनि सहेर बस्ने गरेको उनी बताउँछिन् । ‘महिलाहरूले घरपरिवार सम्हाल्नका लागि सहनुपर्छ भन्ने धारणा बनेको छ । त्यसबाट महिला अझै बाहिर निस्किन सकेका छैनन् । त्यही भएर कतिपय हिंसा साइलेन्स हुन्छन्,’ उनी भन्छिन् । यस्ता महिला हिंसा न्यूनीकरण गर्न सामाजिक सोचमा परिवर्तन हुनुपर्नेमा उनले जोड दिइन् । पुरुषमा केन्द्रित शक्ति संरचनामा पनि पुनर्विचार गर्नुपर्ने र सञ्चारमाध्यमले पनि अन्यायविरुद्धमा आवाज उठाए महिला हिंसा अन्त्य दिवसको महत्व बढ्ने उनको भनाइ छ । 

प्रहरी प्रवक्ता डिआइजी अबिनारायण काफ्ले भने वर्तमान समयका महिला आर्थिक रूपमा सक्षम, आत्मनिर्भर र सचेत भएका कारण महिलामाथि हुने हिंसामा कमी आएको बताउँछन् । यसका साथै अपराधीलाई कडाभन्दा कडा सजाय पनि प्रहरीले दिइरहेका कारण हिंसा घटेको बताउँछन् । हिंसा न्यूनीकरणका लागि प्रहरी महानिरीक्षकको नेतृत्वमा अपराध तथा अनुसन्धान विभागअन्तर्गत महिला निर्देशनालयको स्थापना, प्रत्येक जिल्ला तहमा महिला सेलको स्थापना गरेर त्यस्ता मुद्दाको छानबिन, अनुसन्धान भइरहेको प्रवक्ता काफ्लेले बताए । ‘स्थानीय तहसँग पनि समन्वय गरेर यस्ता घटनाको गम्भीर रूपमा अध्ययन अनुसन्धान भइरहेको छ,’ उनले भने ।

ADV

सम्बन्धित खबर