२०८१ कार्तिक २ गते शुक्रवार / Oct 18 , 2024 , Friday
२०८१ कार्तिक २ गते शुक्रवार

पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस

ADV
लेखनाथ सिकारु
२०८१ साउन १० गते १५:२१
पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीमा केन्द्रीय सदस्य छान्न सकस

काठमाडौं : नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक जारी छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने विषयमा छलफल भइरहेको बताइएको छ । बैठकको शुरुवातमा अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् ।

अध्यक्ष नेपालले बैठकको शुरुमा बोल्दै भने, ‘हामीले थप प्रष्ट मापदण्ड तयार गर्नुपर्ने हुन्छ । हामीले एउटा मापमण्ड बनाइसकेका छौं, त्यसले पुगिरहेको छैन । त्यसैले त्यसमा अरु कुरा जोडेर भएपनि मापदण्डहरु परिमार्जन गर्न आवश्यक छ । यो विषयमा पनि छलफल गर्छौं । सहमतिको साथ हुन सकेको अवस्थामा हामी नाम ल्याउँछौं होला तर त्यो परिस्थिति बनिरहेको छैन । प्रदेश अध्यक्ष र इन्चार्जहरूले छलफल र परामर्शमार्फत आफ्नो प्रदेशमा सहमतिको प्रयास गर्न जरुरी छ ।’

बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिन कार्यविधि तथा मापदण्ड बनाउने, कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्नेलगायतका विषयमा छलफल हुने नेता जगन्नाथ खतिवडाले बताए । केन्द्रीय सदस्यका लागि सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी सन्तुलन मिलाएर मनोनयन गर्ने एकीकृत समाजवादीको तयारी छ । पार्टीमा दुई सय ६ केन्द्रीय सदस्य पद रिक्त छन् ।

सबै जिल्लाको पहुँच केन्द्रीय नेतृत्वमा पुर्‍याउन तथा भौगोलिक सन्तुलन कायम गर्न प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्यको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । समावेशीकरणको सिद्धान्तअनुसार महिला र खुला समूह निर्धारण गरी २५ देखि ४५ वर्षको उमेर समूह र खुला उमेर समूह निर्धारण गरिएको छ ।

केन्द्रीय सदस्य चयन गर्न सकस

पदभन्दा आकांक्षी धेरै भएपछि एकीकृत समाजवादीलाई केन्द्रीय सदस्य चयन गर्न हम्मे हम्मे परेको छ । प्रदेश कमिटीका अध्यक्ष र इञ्चार्जले प्रदेशबाट सम्भावित केन्द्रीय सदस्यहरुको नाम बुझाएको लामो समय बितिसक्दा पनि पार्टीले सदस्यहरुको नाम टुँगो लगाउन सकेको छैन ।

प्रदेशहरूको सिफारिसपछि संगठन विभागले सदस्य चयनको गृहकार्य थालेको छ । 

१६–२१ असारमा सम्पन्न महाधिवेशनले १० दिनभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने घोषणा गरेको थियो । तर २० दिन बितिसक्दा पनि केन्द्रीय सदस्यहरुको नाम टुँगो लागेको छैन । महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसालसहित ९३ सदस्यीय केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको थियो ।

 यसअघि गत २२–२३ असारमा बसेको केन्द्रीय कमिटी बैठकले १० दिनभित्र केन्द्रीय सदस्यको नामावली तयार पार्न प्रदेशका इन्चार्ज र संयोजकलाई जिम्मा दिएकोमा समय सीमाभित्रै प्रदेशले नामावली बुझाइसकेको र अब सबै अधिकार केन्द्रलाई भएको कोशी प्रदेशका अध्यक्ष बलदेव चौधरीले बताए । 

भूगोलसहित विभिन्न कार्यक्षेत्र, समावेशी र खुला तथा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षण गर्नुपर्नेछ । महिलालगायत सबै निर्वाचन क्षेत्रबाट २० प्रतिशत २५ देखि ४५ वर्ष उमेर समूहलाई आरक्षण गर्नुपर्नेछ । सबैभन्दा बढी बागमतीबाट २३ जना केन्द्रीय सदस्य हुनेछन् । त्यसपछि कोशी र मधेशबाट २१–२१ जना केन्द्रीय सदस्य बन्नेछन्  । कर्णालीबाट १९, लुम्बिनीबाट १८, सुदूरपश्चिमबाट १६, गण्डकीबाट १५ केन्द्रीय सदस्य हुनेछन् । यस्तै, सम्पर्क प्रदेशबाट आठ, पेसागतबाट ६, भारत र अन्यबाट एक–एकजना केन्द्रीय सदस्य बन्नेछन् ।

विधानअनुसार सबै जिल्लाबाट कम्तीमा एकजना केन्द्रीय सदस्य हुनेछन् । प्रदेश अन्तगर्तका २५ सय संगठित सदस्य बराबर एक जनाका दरले केन्द्रीय सदस्य थप हुनेछन् । समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक गरी ७० जना केन्द्रीय सदस्य हुनेछन् । पदाधिकारीसहित खुला क्षेत्रबाट ८० जना केन्द्रीय कमिटीमा हुनेछन् । केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो, पोलिटब्युरोको एकतिहाइ स्थायी कमिटी र २१ सदस्यीय पदाधिकारी रहनेछ ।

एकीकृत समाजवादीले केन्द्रीय सदस्यका लागि संगठित सदस्यता लिएको १० वर्ष पूरा भएको हुनुपर्ने, विगतमा जिम्मेवारी सम्पादनको अवस्था, पार्टी नीतिको व्याख्या, विश्लेषण गर्ने क्षमता, जनताबीच क्रियाशीलताजस्ता मापदण्ड बनाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise