
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच हुने एकीकरणको औपचारिक घोषणा आगामी आइतबार हुने भएको छ । दुई दलबीच एकतामा सहमति बनेसँगै विवेकशील साझाले केन्द्रीय समिति बैठकमार्फत एकीकरणको निर्णय सार्वजनिक गरेको हो । घोषणा कार्यक्रम राष्ट्रिय सभा गृहमा आयोजना हुँदैछ ।
विवेकशील साझाको आज बसेको केन्द्रीय समिति बैठकले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारले प्रस्तुत गरेको ‘वैकल्पिक राजनीतिक दलबीचको बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई सर्वसम्मत रूपमा अनुमोदन गर्दै रास्वपासँग एकता गर्ने निर्णय पारित गरेको जनाएको छ ।
उपाध्यक्ष परियारका अनुसार वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता तीव्र रूपमा बढिरहेको समयमा युवाहरूको ‘जेनजी विद्रोह’ आन्दोलनले दुई दलबीचको एकीकरणलाई थप गतिशील बनाएको हो । “नेपाली जनताको विकास, समृद्धि र सुशासनप्रतिको चाहनालाई परिणाममुखी बनाउने साझा प्रतिवद्धताका साथ एकता हुन लागेको यो कदमले राष्ट्रिय सन्देश दिनेछ,” परियारले भने ।
विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानका अनुसार एकता प्रक्रियाका बाँकी प्राविधिक पक्षहरू दुवै पार्टीका शीर्ष नेतृत्वबीचको समझदारीबाट चाँडै टुंगो लगाइनेछ । उनले विवेकशील आन्दोलनका संस्थापक स्व. उज्वल थापाको योगदान, ‘विवेकशील आन्दोलन’लाई संस्थागत गर्ने तथा प्रतिनिधिसभा चुनावलाई परिणाममुखी बनाउने उद्देश्य पनि एकताका मुख्य आधार भएको बताए ।
प्रधानले जारी गरेको विज्ञप्तिअनुसार दुवै दलबीचको एकता घोषणा आइतबार हुने छ । एकता पश्चात् विवेकशील साझाका नेताहरू रास्वपाको ‘घन्टी’ चुनाव चिन्हमै निर्वाचनमा सहभागी हुने तयारीमा रहेको बताइन्छ ।