
काठमाडौं: नेकपा (एमाले)की सचिव एवम् ११औं महाधिवेशन प्रचार समितिकी संयोजक पद्मा अर्यालले पार्टीको नेतृत्वमा केपी शर्मा ओलीको विकल्प नरहेको बताएकी छन् । ११औं महाधिवेशन प्रचार समितिको आज पार्टी कार्यालय च्यासलमा बसेको बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले यस्तो बताएकी हुन् ।
उनले भनिन्, ‘यो विषम परिस्थितीबाट पार्टीलाई जोगाउन फेरि पनि उहाँको विकल्प छैन। यो अहिलेको आवश्यकता हो । अहिले एमालेमा केपी ओलीको विकल्प केपी ओली नै हो ।’
पछिल्लो समय महाधिवेशन नजिकिदै गर्दा पार्टीको नेतृत्वको विषयमा बहस भइरहँदा ओलीको विकल्प ओली नै रहेको अर्यालले प्रष्ट पारिन् । उनले पार्टीको महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीलाई नै पुनः अनुमोदित गर्ने समेत उल्लेख गरिन् ।
मुलुकको वर्तमान सङ्कटपूर्ण राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै पार्टीभित्र सुदृढ एकताको आवश्यकतासमेत रहेको सचिव अर्यालले औंल्याइन् ।उनले सम्बद्ध सबै पार्टी संरचना,संगठन तथा कार्यकर्ताहरूलाई अझ उन्नत एकता र आन्तरिक समन्वयलाई अझ मजबुत बनाउन आग्रह गरिन् ।
पार्टीको ११औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रलाई सही ढङ्गले दिशा निर्देश गर्ने दावी समेत अर्यालले गरिन् ।
अहिले मुलुक अभुतपूर्व संकटपूर्ण घडीबाट गुज्रिएको बताउँदै अर्यालले एमालेमाथि भइरहेको चौतर्फी प्रहारको सामना गर्न, राष्ट्र र राष्ट्रियता जोगाउन तथा कोमामा रहेको संविधानलाई बचाउन एमाले अझ सुदृढ, सबल,सक्षम र एकताबद्ध हुन जरुरी रहेको बताइन् ।
पार्टीभित्रको एकता, स्थायित्व र प्रभावकारी नेतृत्वमार्फत देशसमक्ष उपस्थित चुनौती समाधान गर्न सकिने हुँदा यस सन्दर्भमा आम पार्टी पंक्ति गम्भीर हुँदै एकताबद्ध हुन आग्रह गरिन् ।अझै पनि पार्टीमा सहमतिका आधारमा नेतृत्व निर्माणको औचित्य र आवश्यकता रहेको बताउँदै अर्यालले केपी ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व निर्माण हुने दावी गरिन् ।उनले पार्टी भित्र अराजनीतिक तथा अस्वस्थ अभिव्यक्ति नदिन पनि पार्टी पंक्तिलाई आग्रह गरिन् ।