
इटहरी : सुनसरीको इटहरी–४ हरियाली मार्गस्थित सेफर्ड चिल्ड्रेन एकेडेमी स्कुलका सञ्चालक मिलन राईले गरेको बदमासीका कारण आफू सडकमा आउन बाध्य भएको एक व्यक्तिले बताएका छन् ।
कुनै समयमा सोही विद्यालयमा एकसाथ काम गरेका शिक्षक रञ्जित कुमार शाहले पत्रकार सम्मेलनमार्फत सञ्चालक मिलन राईले आफूसहित अन्य पार्टनरलाई धोका दिइ लाखौँ रुपैयाँ ठगेको आरोप सार्वजनिक गरेका छन् । राइकै कारण आफू आज सडकमा आउनु परेको उनले आरोप लगाए । शाहसहित केही शिक्षक–कर्मचारीहरूले सञ्चालक राईमाथि विभिन्न अनियमितता तथा दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
शाहका अनुसार करिब ८० लाख रुपैयाँमा विद्यालय बिक्री गर्ने प्रक्रिया अघि बढिरहेको बेला आवश्यक कागजात नपुग्दा पनि राईले गैरकानुनी तरिकाले इटहरी उप–महानगरपालिकाका केही कर्मचारीसँग मिलेमतो गरी विद्यालय आफ्नो नाममा नामसारी गरेका छन् । उनले आफूसहित अन्य पार्टनरलाई पनि धोका दिइएको दाबी गरे ।
शाहले आवश्यक कागजात अपूरो भएको र अर्का सञ्चालक शिवप्रसाद तिम्सिनासँग पनि सम्पर्क हुन नसकेको उल्लेख गर्दै यस्तो अवस्थामा कारोबार अघि बढ्न नहुने भएपनि विद्यालय राईको नाममा कसरी नामसारी भयो ? भनेर प्रश्न उठाए ।
शाहका अनुसार आफूलाई तोकिएको रकम नदिइएको र सात महिनाको पारिश्रमिकसमेत रोकिएको छ । पारिश्रमिक माग्ने शिक्षकलाई शौचालयमा थुन्ने, अनाहक मुद्दा लगाएर थुनाउने र प्रहरी पठाएर यातना दिने घटनाहरू भएको पनि पीडित पक्षको आरोप छ ।
यस्तै, शाहले भने सञ्चालक राईले थप दबाब सिर्जना गर्ने, आत्महत्याको नोट लेखेर फरार रहने, धम्की दिने, झुटा उजुरी दर्ता गराई पटक–पटक प्रहरीमा हाजिर हुन बाध्य पार्ने जस्ता गतिविधि गरेको आरोप लगाए ।
उनका अनुसार न्यायिक समितिमा पुगेको विवादको मुद्दामा निर्णय आउन लाग्दा–लाग्दै राई सम्पर्कविहीन भएका छन् ।
विद्यालयका अन्य शिक्षक–कर्मचारीहरूले समेत तलब रोक्ने, २ वर्षका झुटो सम्झौता बनाउने, विद्यालय प्रवेशमा रोक लगाउने, नक्कली भौचर तयार गर्ने, झुटा मुद्दा दायर गर्ने तथा सामाजिक सञ्जालमा फेक एकाउन्टमार्फत भ्रम फैलाउने जस्ता अनियमितता भएको उनले आरोप लगाए ।
साथै मार्कसिट तथा प्रमाणपत्र वितरणमा समेत अनियमितता हुने, समयमा कागजात नदिने समस्या पनि रहेको उनीहरूको भनाइ छ ।
यता राईले मध्यान्हसँग कुरा गर्दै आफूमाथि लगाइएका सबै आरोप कपोकल्पित र झुटा भएको दाबी गरे ।
आफू प्रमाणसहित त्यसको खण्डन गर्न तयार रहेको उनले बताए । शाहले देखाएको कागजपत्रकै आधारमा आफू निर्दोष सावित गरिदिने पनि उनको दाबी छ ।
राईले थप आरोप लगाउँदै भने,‘शाहले सञ्चालन गरेको एउटै स्कुल १० जनालाई बिक्री गरेको प्रमाण मेरो हातमा छ ।’
उनका अनुसार शाहले १५वर्षसम्म ह्वाइट सोल एकेडेमी स्कुल चलाएर आफू (राई)सँग सहकार्य गरी सेफर्ड लिएका थिए । तर पछि शाहले विद्यालय आफ्नै नाममा पार्ने योजना बनाउँदै उल्टै लाखौँ ऋण आफूमाथि बोकाउन खोजेपछि आफू पन्छिएको राईको भनाइ छ ।
राईले अब शाहविरुद्ध कानुनी लडाइँ लड्ने चेतावनी पनि दिएका छन् । उनले भने,‘यदि म दोषी सावित भए कानुन अनुसार जस्तो पनि सजाय भोग्न म तयार छु ।’