
रौतहट : बीमा ठगीबाट पीडित भनिएका सत्येन्द्र पाण्डेले आफू राज्यद्वारा संरक्षण प्राप्त समूहबाट निरन्तर धम्कीको जोखिममा परेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा चर्चित बनेको बीमा ठगी सम्बन्धी भिडियोको प्रसंग उठाउँदै पाण्डेले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त दाबी गरेका हुन् ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवसँग भेटेको भोलिपल्टै एलआइसी नेपालका पदाधिकारी र तिनका निकट व्यक्तिहरूले फोन तथा लिखित रूपमा कडा कारबाहीको चेतावनी दिएको उनले बताए । उनका अनुसार ती सबै कल रेकर्ड तथा प्रमाण सुरक्षित राखिएका छन् ।
पाण्डेले भनेका घटनाहरू करिब दुई वर्षअघि सुरु भएको बीमा ठगी प्रकरणसँग जोडिएका हुन् । उनले एलआइसीका केही पदाधिकारी, विशेषगरी डीसीओ अरविन्द दत्तामाथि जनताको पैसाबाट वकिल परिचालन गरी मुद्दालाई मिलेमतोमा सिध्याउन खोजेको आरोप लगाए । ‘मलाई बेपत्ता पार्ने र विभिन्न किसिमका दाबाब सिर्जना गर्ने धम्की आउने गरेको छ,’ पाण्डेले भने ।
रौतहट जिल्ला प्रशासनमा उजुरी दर्ता गर्दा पनि प्रहरी प्रशासनले गम्भीर रूपमा नलिएको उनको गुनासो छ ।
‘प्रहरी कार्यालयले पुरानै शैलीमा उजुरीलाई टार्ने प्रयास गरिरहेको छ । सुरक्षा माग्ने ठाउँमैबाट धम्की आइरहेको अवस्था छ,’उनले भने ।
पाण्डेले बीमा कम्पनीका एजेन्ट पंकज कुमार पाण्डेयविरुद्ध वर्षौंअघिदेखि उजुरी परेपनि कारबाही नभएको र उल्टै आफूलाई नै गलत मुद्दामा फसाउने प्रयास भइरहेको आरोप लगाए । जनकपुर प्रहरी कार्यालयमा पनि यस्तै ‘षड्यन्त्रपूर्ण प्रक्रिया’ भइरहेको उनले दाबी गरे ।
उनका अनुसार एलआइसीसँग सम्बन्धित व्यक्तिहरूले आफ्ना गतिविधि लुकाउन पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र जेनजीको नाम प्रयोग गर्दै आफूलाई बदनाम गर्ने प्रयास गरेका छन् ।
पाण्डेले रौतहट जिल्ला प्रहरी, सरकारी वकिल कार्यालय, मानव अधिकार आयोग, गृहमन्त्रालय, मधेश सरकार, सीआईबी, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्रदेखि राष्ट्रपतिको कार्यालयसम्म उजुरी पुगेपनि दुई वर्षसम्म पनि कुनै प्रभावकारी कारबाही नभएको गुनासो व्यक्त गरे । उनका अनुसार बीमा ठगीसँग सम्बन्धित प्रभावशाली समूहले नै न्यायिक प्रक्रियामा हस्तक्षेप गरिरहेको छ ।
नियामक निकायदेखि प्रहरी प्रशासनसम्म समयमै कारबाही नहुनुले अपराधीहरू हौसिएको आरोप पाण्डेले लगाए । उनले एलआइसीका पदाधिकारीहरूले जति प्रमाण भएपनि जनताको पैसा प्रयोग गरी वकिलमार्फत मुद्दालाई आफ्नो पक्षमा मोड्ने योजना बनाइरहेको आरोप लगाए ।