
काठमाडौं : जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी गरिएको घटनामा संलग्न रहेको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियु सभापति विष्णु ढुंगेल पक्राउ परे । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत सोमबार पक्राउ गरी आवश्यक कारबाही अघि बढाएको छ ।
त्यस्तै जेनजी आन्दोलनका क्रममा काठमाडौंको कोटेश्वर प्रहरी प्रभागमा आक्रमण गरी प्रहरीको हत्या गरेको आरोपमा कैलालीको लम्कीचुहा नगरपालिका–४ अमरपुरका १९ वर्षीय अनुपम भण्डारी कारागार चलान गरिएको छ । कोटेश्वर प्रभागमा कार्यरत ३१ वर्षका सहायक हबल्दार अमृत गुरुङको हत्या गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले भण्डारीलाई थुनामा पठाउन आदेश दिएको हो ।
त्यस्तै, इटहरी इलाका प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाट घटनामा संलग्न रहेको आरोपमा इटहरी उपमहानगरपालिका–३ का २९ वर्षीय विजय लिम्बू, भोजपुर याङ्पाङ–७ भई हाल इटहरी उपमहानगरपालिका–४ बस्ने ४७ वर्षीय मदन खत्री, इटहरी उपमहानगरपालिका–५ का ४४ वर्षीय दीपेन्द्रकुमार कार्की, इटहरी उपमहानगरपालिका–८ का २४ वर्षीय आभास कार्की र इटहरी उपमहानगरपालिका–४ का २४ वर्षीय सोनम कार्कीलाई प्रहरीले कानुनी दायरामा ल्याएको जनाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीको टोलीले फरार रहेका दुई कैदीलाई पक्राउ गरी पुनः कारागार पठाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरू पछिल्लो समय जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका थिए ।
भदौ २३ र २४ गते भएको जेनजी समूहको आन्दोलनका क्रममा हत्या, आगजनी, तोडफोड, लुटपाट, चोरीलगायत हिंसात्मक गतिविधिमा संलग्न भएका व्यक्तिलाई प्रहरीले धमाधम नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले आन्दोलनलाई हिंसात्मक बनाउने र सम्पत्ति क्षति गर्नेमाथि प्रहरीले सूक्ष्म निगरानी गरेर आवश्यक कारबाही अघि बढाएको बताए । काफ्लेले भने, ‘आन्दोलनलाई हिंसात्मक बनाउने घटनामा संलग्नहरूको सूक्ष्म निगरानी गरी भिडियो, फोटोलगायतका प्रमाणका आधारमा पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।’
जेनजी आन्दोलनका क्रममा लुटिएका १ हजारभन्दा बढी हतियारमध्ये हालसम्म झन्डै ८ सय ५० हतियार बरामद गरिएको गृहमन्त्री अर्यालले बताए । जेनजी आन्दोलनका क्रममा विभिन्न अपराधमा संलग्नमध्ये ५ सय ९५ जनालाई पक्राउ गृह मन्त्रालयले सार्वजनिक गरेको छ । ‘जेन–जी आन्दोलनको आडमा अपराधमा संलग्नलाई पक्राउ गर्ने मुद्दा चलाउने काम भइरहेको छ,’ गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘अपराधमा संलग्नमध्ये कुल ५ सय ९५ जनालाई पक्राउ गरिएको तथा २ सय ८३ जनालाई विभिन्न कसुरमा मुद्दा दर्ता गरिएको अवस्था रहेको छ ।’
गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न सुरक्षा निकायबाट लुटिएका हतियार फिर्ता ल्याउन संयुक्त प्रयास भइरहेको बताए । मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार र खरखजाना फिर्ता ल्याउन प्रभावकारी सेक्युरिटी अपरेसन सञ्चालन गर्न जिल्ला सुरक्षा समितिलाई निर्देशन दिई कार्यान्वयन गरिएको बताउँदै उनले भने, ‘सबै सुरक्षा निकायहरूले सूचना आदानप्रदान गरी कार्ययोजना बनाई संयुक्त रूपमा योजना बनाइएको छ ।’ हालसम्म ७ सय २३ थान हतियार फिर्ता ल्याइएको उनको भनाइ छ ।
जेन–जी आन्दोलन क्रममा कारागार तथा बन्दी गृहबाट भागेका, फरार भएका १४ हजार ५ सय ५४ कैदीबन्दीमध्ये ९ हजार ६ सय ९७ लाई फिर्ता ल्याइसकिएको उनले बताए । जेलबाट भागेर फिर्ता नआएका कैदीबन्दीलाई पक्राउ गर्न विशेष अपरेसन सञ्चालन गरिएको अर्यालको भनाइ छ । भागेका कैदीबन्दी र लुटिएका हतियार नै आगामी फागुन २१ का लागि तोकिएको आमनिर्वाचनको चुनौती बनेको सरोकारवालाले बताएका छन् । राजनीतिक दलहरूले यसैलाई देखाएर चुनावमा जान नसकिने सन्देश सरकारलाई दिइरहेका छन् । तर निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्था बलियो बनाउन सरकार प्रतिबद्ध रहेको गृहमन्त्री अर्यालले बताएका छन् ।