
काठमाडौं : नेकपा एमालेको ११औं महाधिवेशन नजिकिँदै जाँदा प्रतिनिधि तहसम्मै प्रष्ट कित्ताकाट देखिन थालेको छ । पदाधिकारी र केन्द्रीय सदस्यको आकांक्षा राख्नेहरूले भोट माग्न थालेका छन् भने मुख्य दुई समूह प्यानल निर्माणमा सक्रिय छन् ।
अध्यक्षमा केपी शर्मा ओलीलाई रोक्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र १० बुँदे समूहको बलियो साथ रहेको छ । २०७८ साउनमा माधव नेपालले पार्टी विभाजन गर्नेबेला १० बुँदे सहमति गरेर एमालेमा रहेका स्थायी कमिटीका १० नेता सो समूहमा छन् । उपाध्यक्षत्रय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईलगायत नेताहरू पोखरेल प्यानलमा छन् । यसको लाभ र हानी दुबै पोखरेलले पाउने छन् । तर पोखरेल मुलतः पूर्वराष्ट्रपति भण्डारीका उम्मेदवार हुन् । गत १४ असारको मदन जयन्तीमा सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी उनी महाधिवेशनबाट अध्यक्ष हुन चाहन्थिन् । तर ओलीको तेस्रोपटक अध्यक्ष हुने चाहनाले उनको राजनीतिक महत्वाकांक्षालाई ब्रेक लगाइदियो ।
ओलीले केन्द्रीय कमिटीबाटै राष्ट्रको सर्वोच्च पदमा गइसकेका व्यक्ति पुनः पार्टी राजनीतिमा फर्किन नहुने निर्णय गराएर उनलाई भण्डारीलाई रोके । बितेका पाँच महिनामा भण्डारी र उनको समूहले पार्टी सदस्यता नविकरणका लागि निरन्तर दबाब दिँदैआएको छ । तैपनि, ओली टसमस भएनन् । २३–२४ भदौंको जेनजी विद्रोहबाट सत्ताच्यूत भएपछि ओलीलाई पार्टी नेतृत्वबाट विदा गर्न यो समूहले निकै जोड गर्यो । तर अर्ली महाधिवेशन आह्वान गरेर उनले तत्कालका लागि संकट टारे ।
पार्टीभित्र घेराबन्दीमा परेका अध्यक्ष ओली महाधिवेशनबाट पुनः शक्ति आर्जन गर्ने रणनीतिमा छन् । तर, विद्या–पोखरेल समूह ओलीको विकल्प खोजी छाड्ने अडानमा छ । महाधिवेशन प्रतिनिधि चयनमा पनि यो समूहले निकै मिहेनत गरेको देखिन्छ । पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिका लागि खोलेको कार्यालयमा सोमबार यो समूहको बैठकसमेत बसेको छ । महाधिवेशन प्रतिनिधि विवादसँगै प्यानल निर्माणका लागि बैठक महत्वपूर्ण मानिएको छ ।
एमालेभित्र अहिले प्रष्टतः दुई लाइन देखिन्छ । एउटाले ओलीको विकल्प खोज्ने र पार्टीलाई नयाँ ढंगले अघि बढाउने विषयलाई महाधिवेशनको मुद्दा बनाएको छ । अर्को, जेनजी विद्रोहका नाममा देशीविदेशी शक्तिले एमाले र नेतृत्व ओलीमाथि आक्रमण भइरहेकाबेला उनलाई कमजोर बनाउनु हुन्न भन्नेमा दृढ देखिन्छ । उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सोमबार त्यस्तै धारणा व्यक्त गरे ।
एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव गुरुङ उपयुक्त पद नपाए विद्या–ईश्वर प्यानलमा जाने चर्चाका बीच उनले एक कदम अघि बढेर भने, ‘जबज जननेता मदन भण्डारीको परिवारविशेषको कुरा होइन् ।’
उपाध्यक्ष पौडेल एमाले महाधिवेशनमा निर्णायक मानिन्छन् । सचिवालय बैठकमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नविकरण गर्नुपर्ने विचार राखेपछि उनी संस्थापनइतर समूहमा उभिने त्रास ओली समूहलाई थियो । तर अध्यक्ष ओलीलाई भेटेर उनले संस्थापनलाई बलियो बनाएर लैजाने प्रतिबद्धता जनाइसकेका छन् ।