
साउदी अरब, रियाद : नेपाली पाककला क्षेत्रको प्रख्यात नाम विक्रम वैद्यले विश्वको उत्कृष्ट ‘फूड टुरिज्म कुकबुक’ श्रेणीमा प्रतिष्ठित ३१औं अन्तर्राष्ट्रिय गोरमान्ड अवार्ड जित्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । रियादमा सम्पन्न समारोहमार्फत प्रदान गरिएको यो अवार्ड विश्वभरका खाना तथा पेयसम्बन्धी पुस्तकहरूलाई दिइने अत्यन्त सम्मानित मानिन्छ ।
२० मुलुकका प्रतिनिधिहरू सहभागी रहेको कार्यक्रममा नेपालले “द मिस्टिक किचेन्स अफ नेपाल” पुस्तकमार्फत उत्कृष्टता प्रदर्शन गर्दै पुरस्कार हात पारेको हो । पुस्तकमा नेपालका पुराना परम्परागत रेसिपी, सांस्कृतिक धरोहर, विभिन्न क्षेत्रका खाद्य यात्रा तथा पुस्तौंदेखि चल्दै आएका पाककला ज्ञानलाई समेटिएको छ । १६ वर्षको यात्रामा संकलन गरिएका अनुभव तथा अनुसन्धानले नेपालको मौलिक खानालाई अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गरेको छ ।
गहिरो सांस्कृतिक कथावाचन, तथ्यगत अध्ययन तथा नेपाली पाक–सम्पदाको संरक्षणप्रतिको समर्पणका आधारमा नै वैद्यको पुस्तकलाई चयन गरिएको आयोजकले जनाएका छन् ।
विक्रम वैद्य लामो समयदेखि पाककला शिक्षा, लेखन र हिमाली खानाको पहिचान संरक्षणमा सक्रिय व्यक्तित्व हुन् । ओरेगन पाककला संस्थानका मुख्य प्रशिक्षक, ले कर्डन ब्लु (ओरेगन) का अन्तर्राष्ट्रिय खाना प्रशिक्षक तथा काठमाडौँको टम एण्ड जेरी पबका सह–संस्थापकसमेत रहेका वैद्यको करियर २० वर्षभन्दा बढीको अनुभवले भरिएको छ ।

उनको लक्ष्य परम्परागत नेपाली खानालाई संरक्षण गर्दै दिगो पाक–अभ्यासलाई विश्व समुदायसम्म पुर्याउनु र नयाँ पुस्तालाई खानासँग जोडिएको संस्कृतिमूलक ज्ञानबारे शिक्षित बनाउनु रहेको छ । वैद्य विश्वका विभिन्न देशमा कक्षा, व्याख्यान तथा कार्यशालामार्फत नेपाली खानाको वैज्ञानिक, कलात्मक र ऐतिहासिक पक्षबारे निरन्तर प्रचार–प्रसार गरिरहेका छन् ।
अवार्ड प्राप्त गरेपछि वैद्यले यो सम्मान आफ्नो व्यक्तिगत उपलब्धि मात्र नभई “प्रत्येक नेपालीको संस्कार, कथा र पाक–पहिचानको सम्मान” भएको प्रतिक्रिया दिए ।
रियाद पुगेका उनलाई कार्यवाहक राजदूत सिर्जना अधिकारी, दूतावास परिवार, एनआरएन आरसिसी रियाद तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (अमेरिका शाखा–साउदी) ले विशेष सम्मानसमेत प्रदान गरे । राजदूत अधिकारीले नेपालका पुरातात्त्विक र सांस्कृतिक पहिचान समेटिएको पुस्तक विश्व–मञ्चमा चिनिनु गर्वको विषय रहेको बताउँदै दूतावासले आवश्यक सहयोग गर्ने आश्वासन दिइन् ।