
रौतहट : रौतहटको यमुनामाई गाउँपालिका–४ स्थित गौरचपुर सडकखण्डमा सवारी साधन एकआपसमा ठोक्किँदा सात जना यात्रु घाइते भएका छन् ।
दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाबाट तीव्र गतिमा आइरहेको भारतीय नम्बर प्लेट एचआर २८ डी ७२२२ नम्बरको स्कार्पियोले चपुरबाट गौरतर्फ जाँदै गरेको बिआर ०७ पिए ७५८४ नम्बरको स्कार्पियोलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
त्यसपछि एचआर २८ डी ७२२२ नम्बरको स्कार्पियोले घटनास्थलमै रोकिएको ना.२ ह ६५२५ नम्बरको अटोमा समेत ठक्कर दिएको थियो । दुर्घटनास्थल नजिकै रहेको स्थानीय विजय साहको होटलमा समेत क्षति पुगेको प्रहरीले बताएको छ ।
दुर्घटनामा स्कार्पियो र अटोमा सवार सात जना घाइते भएका छन् । घाइते हुनेमा ३० वर्षीय पवन यादव, ११ वर्षीय अंकित महतो, २४ वर्षीय सुरेन्द्रकुमार साह, ५० वर्षीय शिवजी साह, ५२ वर्षीय रामदयाल साह, ३९ वर्षीय मंगल पटेल र १० वर्षीय तारिक ओस्ता रहेका छन् ।
घटना लगत्तै जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको टोलीले घाइतेहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल गौर पुर्याएको थियो । घाइतेहरूको उपचार भएलगत्तै डिस्चार्ज गरेको उक्त अस्पतालले जनाएको छ ।
प्रहरीले तीनवटै सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तीव्र गतिमा सवारी साधान चलाउनाले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटना आज (मंगलबार, मंसिर १६) बिहान ८ः३० बजे भएको थियो ।