
काठमाडौं : सरकारले दुर्गा प्रसाईंलाई औपचारिक पत्र पठाउँदै मंसिर २२ गते वार्तामा सहभागी हुन आग्रह गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयबाट जारी सो पत्रमा प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ ।
पत्र प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानका अर्थ तथा ऋणी एसोसिएसन प्रमुख देवीप्रसाद संग्रौलाले बुझेका हुन् ।
हाल प्रसाईं भारतको नयाँ दिल्लीमा राजनीतिक भेटघाटमा छन् र बुधबार नेपाल फर्किने निकट स्रोतले जनाएको छ ।
मंसिर १२ गते गृहमन्त्री ओमप्रकाश अर्यालसँगको भेटमा प्रसाईंले व्यवस्था खारेजीसहित २७ बुँदे माग पेस गरेका थिए ।
तीमध्ये धेरै माग संविधानसँग बाझिन जाने भएकाले प्रधानमन्त्री तहमै वार्ता आवश्यक पर्ने निष्कर्ष निकालेपछि सचिवालयले औपचारिक निम्तो पठाएको हो ।
वार्ता सहजीकरण अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले गरिरहेका छन् ।