
काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले जेनजी पुस्ताको रियल लिडर आफ्नो पार्टी भएको दाबी गरेका छन् । प्रेस चौतारी नेपालले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उपाध्यक्ष पौडेलले एमाले जेनजीको जायज आकंक्षा र अपेक्षाविरुद्ध कहिल्यै नरहेको र नरहनेसमेत स्पष्ट पारे । एमाले कहिल्यै जेनजीविरुद्ध नरहेको उनको भनाइ थियो । उपाध्यक्ष पौडेलले एमालेले सबै उमेर समूहका नागरिकहरुको प्रतिनिधित्व गरिरहेको जिकिर गरे ।
उनले भने, ‘जेनजी उमेर समूहको रियल लिडर पनि एमाले हो भन्ने म दाबी गर्न चाहन्छु । एमालेले कहिल्यै पनि जेनजीका विरुद्धमा जेनजीका मागका विरुद्धमा उनीहरूका न्यायिक र जायज आकांक्षा र अपेक्षाका विरुद्धमा एमाले थिएन र रहँदैन भन्नेकुरा स्पष्ट पार्न चाहन्छु ।’
उपाध्यक्ष पौडेलले सरकारले निर्वाचनको लागि आवश्यक वातावरण बनाउन नसकेको बताए । –न्युज एजेन्सी नेपाल