२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमालेको ध्रुवीकरण लामो रहँदैन, ओलीको नेतृत्वमा गोलबद्ध हुन्छ : पौडेल

shivam cement
२०८२ मंसिर १७ गते १५:०६
Shares
एमालेको ध्रुवीकरण लामो रहँदैन, ओलीको नेतृत्वमा गोलबद्ध हुन्छ : पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमालेको ११औँ महाधिवेशन सकिँदा पार्टीमा कुनै ध्रुव नहुने बताएका छन् । 

पार्टीको आन्तरिक जीवन कुनै समस्यामा नभएको दाबी गर्दै उनले भने, ‘हामी सहज ढङ्गले अगाडि बढ्न सक्ने ठाउँमा छौँ । एमालेभित्र जुन ध्रुव देखिएको छ, के तपाईंहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला ? मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुव रहँदैन ।’ 

एमाले अध्यक्ष केपी ओलीकै नेतृत्वमा फेरि पनि पार्टी अघि बढ्ने उनले बताए ।  ‘अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्दा नमान्नु पर्ने कुनै विषय देख्दिन । यो सम्भव नै छैन भन्ने पनि मलाई लाग्दैन, प्रतिस्पर्धा भए पनि प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नु पर्छ’, प्रेस चौतारीले राखेको पत्रकार भेटघाटमा उनले भने ।  

एमालेलाई निरङ्कुश छ भन्ने भ्रम फिँजाउने प्रयास भए पनि एमाले आन्तरिक लोकतन्त्रको च्याम्पियन पार्टी भएको पौडेलको दाबी छ । 

महाधिवेशनमा सहभागी हुँदा आफू एमालेको सदस्य मात्र हुने बताउँदै पौडेलले आफू लाखौँ कार्यकर्ता जस्तै कार्यकर्ता भएको स्पष्ट पारे ।  ‘मेरो स्थान के भन्दा पनि पार्टीको स्थान के भनेर सोच्नु पर्छ । मेरो ठाउँ के भनेर ङार्रङुर्र गर्नुपर्दैन, हजार जना कार्यकर्ता भित्र परिहाल्छु,त्यही बसेर काम गर्दा हुन्छ, केही फरक पर्दैन’, उनले भने ।  

पौडेलले आजसम्म पार्टीमा पाएको जिम्मेवारी मागेर नलिएको पनि बताए । ‘पार्टीले उचित जिम्मेवारी दिन्छ, मैले के पाउँछु भनेर आजसम्म सोचेको छैन’, उनले भने, ‘म महासचिवको उम्मेदवार होइन, म यस अघि नै महासचिव भएर काम गरिसकेको मान्छे हु, ११औँ महाधिवेशनमा मेरो उम्मेदवारी हुन्छ तर अध्यक्ष र महासचिव बाहेकमा हुन्छ । मैले अध्यक्षमा केपी ओलीलाई समर्थन गरिसकेको छु, महासचिव पहिला नै भइसकेको छु, त्यसैले काहीँ न काहीँ उम्मेदवारी त हुन्छ, तर त्यो पछि नै तय हुन्छ’, पौडेलले भने । 

एमालेविरुद्ध चौतर्फी घेराबन्दी भएको बताउँदै पौडेलले तर ती घेराबन्दी गर्नेलाई जनताले घेराबन्दी गर्ने पनि बताए ।  ‘एमाले नपुगेको कुनै वडा र टोल छैन, हामी एमाले नपुरेको घर छैन भन्ने ठाउँमा यो पार्टीलाई पुर्‍याउने अभियानमा छौँ’, उनले भने । 

एमाले गमलामा मल हालेर हुर्काएको पार्टी नभएको बताउँदै उनले एमाले सारा हण्डर, त्याग बलिदान र संघर्षबाट गुज्रिएको पार्टी भएको टिप्पणी पनि गरेका छन् ।  ‘कस्ता कस्ता प्रतिकूलता त सामना गरेको आएको एमालेलाई अहिलेको प्रतिकूलता केही होइन’, पौडेलले भने । 
 

सम्बन्धित खबर