२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

नलिञ्चोक हेलिपोर्टमा भ्रष्टाचार

सम्भाव्यता अध्ययनदेखि नै अनिमियता, मिलोमतोमा कमिसन 

shivam cement
छबि सापकोटा
२०८२ मंसिर १८ गते ०७:५६
Shares
नलिञ्चोक हेलिपोर्टमा भ्रष्टाचार

काठमाडौं : नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र तत्कालीन निर्देशक मुरानी भण्डारीसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माण सुरु हुनुअघिदेखि नै मिलोमतोमा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको ठहर गरेको हो । सोही प्रकरणमा उनीविरुद्ध बुधबार मुद्दा दायर गरिएको हो ।

अधिकारीलाई तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले चार वर्षअघि प्राधिकरणको महानिर्देशकमा नियुक्त गरेका थिए । अधिकारी नियुक्तिमा समेत सिनियर कर्मचारी हुँदाहँुदै पनि शक्तिको भरमा ११औं तहमा रहेका उनलाई महानिर्देशक बनाइएको थियो । त्यसपछि बनेको सरकारले उनलाई हटाउन खोजे पनि सकेका थिएनन् । जेनजी आन्दोलनपछि बनेको सरकारले भ्रष्टाचारको फाइल खोल्ने सुरु गरेसँगै प्राधिकरणका कर्मचारीलाई अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारले सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण ठाउँमा हेलिपोर्ट निर्माण चरणदेखि नै भ्रष्टाचार गरेको निष्कर्ष निकालेको हो । 

अख्तियारले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित तत्कालीन निर्देशक मुरारी भण्डारी, बाहलवाला प्रबन्धक नलविक्रम थापा, उपप्रबन्धक समृद्धि श्रेष्ठविरुद्ध मुद्दा दायर गरेको छ । यस्तै, हेलिपोर्ट परामर्शदाता गुरुदत्त अधिकारी, अभियन्त्र कन्सल्टिङ प्रालि कम्पनीका सञ्चालक विजय थापाले मुद्दा दायर गरेको हो । उपप्रबन्धक श्रेष्ठबाहेक प्रत्येक व्यक्तिलाई १३ करोड ५७ लाख ४६ हजार रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए । 

सम्भाव्यता अध्ययनदेखि नै अनिमियता 
अख्तियारले हेलिपोर्ट निर्माणका लागि अनिवार्य हुने सम्भाव्यता अध्ययनसमेत नगरेको जनाएको छ । कानुनी स्वीकृति नलिई प्राविधिक तथा वित्तीय प्रस्ताव माग गरिएको, अनुभवहीन परामर्शदाता फर्मलाई मिलेमतोमा छनोट गरिएको र विस्तृत परियोजना प्रतिवेदनसमेत पूर्णरूपमा नबनाई खरिद प्रक्रिया अघि बढाइएको अख्तियारको ठहर छ । 

यस्तै, सार्वजनिक खरिद ऐन तथा नियमावलीले माग गरेका ‘स्पेसिफिकेसन’, योजना, डिजाइन, खरिद गुरुयोजना, वार्षिक खरिद योजना तथा बजेट स्वीकृतिअघि नै निर्माण प्रक्रिया अगाडि बढाएर अनिमियता गरेको अभियोजन गरिएको छ । हेलिपोर्ट निर्माण गर्दा सरकारको पूर्वस्वीकृति तथा वातावरणीय प्रभाव मूल्यांकनसमेत नगरिएको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ । निर्माण चरण हुनुभन्दा अघि नै कर्मचारीको मिलेमतोद्वारा भ्रष्टाचार भएको भन्दै अख्यियारले मुद्दा दायर गरिएको जनाएको छ ।

हचुवाको भरमा १७ करोड ५४ लाख ४५ हजार ३ सय ८९ बराबरको लागत अनुमान गरेर स्वीकृत गरिएको र त्यसको दुई दिनपछि नाम मात्रको खरिद गुरुयोजना तयार गरिएको देखिन्छ । यस्तै, नेपाल नागरिक उडड्यन प्राधिकरण सञ्चालक समितिले १५ करोड बजेट पारित गरेर काम अगाडि बढाएको थियो । हेलिपोर्टजस्तो संवेदनशील संरचना निर्माणको डिजाइन, लागत अनुमान र ड्रइङ तयार गर्न अन्तर्राष्ट्रियस्तरमा आशयपत्रसमेत माग गरेको नदेखिएको अख्तियारले जनाएको छ । एक वर्षभन्दा बढी अवधिसम्म सञ्चालन हुने योजना वा आयोजनाका लागि खरिद गर्दा वा वार्षिक १० करोड रुपैयाँभन्दा बढी रकमको खरिद गर्दा खरिदको गुरुयोजना तयार गर्नुपर्नेछ कानुनी व्यवस्था भए पनि कुनै पनि तयारी गरिएको थिएन । 

सुरक्षाको दृष्टिमा जोखिम 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका विमानस्थल सञ्चालन विभाग प्रमुख सुभाष झाको संयोजकत्वमा गठित समितिले २०८० मंसिरमा २६ गते उडान परीक्षण गरेर पेस गरेको प्रतिवेदनमा सुरक्षाको दृष्टिले निकै जोखिम देखिएको जनाएको थियो । सो क्षेत्रमा करिब २ सय मिटरसम्मको दूरीमा रहेका  करिब ४ सय घरधुरी प्रभावित हुने, जहाज सुरक्षामा कुनै पनि बखत खतरा निम्तिन सक्ने प्रतिवेदनमा छ । 

हवाई सुरक्षाको दृष्टिले अत्यन्त महत्वपूर्ण मानिने यात्रु चेकिङ कक्षलगायत सुरक्षाकर्मी बस्ने ब्यारेक सुरक्षा ड्युटी पोस्टहरूको व्यवस्थासमेत छैन । यस्तै, काठमाडांै टावरसँग विमानको सञ्चार सम्पर्कका लागि आवश्यक पूर्वाधारहरूको व्यवस्थापन गर्न छुट्टै भवन नरहेको, मौसमी पूर्वाधारहरूको व्यवस्थापन नभएकाले भिजिबिलिटीमा समस्या रहेको अख्तियारको ठहर छ । हेलिपोर्टसम्म पुग्ने बाटो साघुँरो रहेको, हेलिपोर्ट क्षेत्रमा उच्च भोल्टज क्षमताको विद्युत् प्रसारण लाइन रहेकाले उडान सुरक्षामा गम्भीर चुनौती रहेको, उक्त स्थानमा हेलिकोप्टर सञ्चालनका लागि अन्य पूर्वाधारहरू नभएकाले तत्कालै सञ्चालनमा ल्याउन नसकिने प्रतिवेदनमा उल्लेख भएको भन्दै नलिञ्चोक हेलिपोर्ट निर्माणमा मिलोमतो गरिएको अख्तियारको ठहर छ । 

यस्तै, ११ वटा हेलिकोप्टर अपरेटर कम्पनीमा कार्यरत ४७ जना पाइलटले हेलिप्याडबाट गरिने उड्डयन गर्दा सुरक्षा जोखिम सिर्जना भएको भन्दै व्यावसायिक हेलिकोप्टर सञ्चालन गरियो भने निकट भविष्यमा भयानक दुर्घटना घट्न सक्ने देखिएकाले हेलिप्याडको स्थान र त्यहाँबाट गरिने उड्डयन सञ्चालनका कारण गम्भीर दुर्घटना हुन चेतावनीसमेत दिएका थिए । 
 

सम्बन्धित खबर