
काठमाडौं : बनेपाकी १५ वर्षकी निकिता (परिवर्तित नाम) बाबुआमाको वैवाहिक सम्बन्धविच्छेद भएपछि मामाघरमा बस्न थालिन् । त्यहाँ पनि उनले उचित स्याहारसुसार र लालनपालन पाइनन् । त्यसपछि उनले विकल्प खोज्न थालिन् । उमेर बढ्दै गएपछि कामको खोजीमा काठमाडौं आइपुगिन् । उनलाई छिमेकी दाइले काठमाडौं ल्याए । बागबजारको एक मसाज सेन्टरमा काम सिक्ने र पछि आफैं व्यवसायी बन्न सक्ने सपना देखाए । उनले काम सिक्न थालिन् । सञ्चालकले एक दिन आफूले भनेको काम गरेमा राम्रो पैसा दिने भन्दै प्रलोभनमा पारे । उनी मसाज सेन्टरमा काम सिक्न गएकी थिइन् तर यौन व्यवसायमा लाग्नुपर्ने बाध्यता आइप¥यो ।
काठमाडौं पस्दा सिन्धुलीकी सविता (परिवर्तित नाम) १४ वर्षकी थिइन् । कमजोर पारिवारिक अवस्था, पेटभरि खान र एकसरो कपडा लगाउनसमेत धौधौ । गरिबीबाट पार पाउन काठमाडौं आउने निधो त गरिन् तर बिरानो सहरमा चिनजानका कोही थिएनन् । बल्लबल्ल गाउँकै मामा पर्ने व्यक्तिको सम्पर्कमा पुगिन् । उनै मामाले सवितालाई काठमाडौंस्थित सुनधारा दोहोरी साँझमा काम लगाइदिए । दोहोरी साँझमा वेटरको काम पाएकी उनले पहिलो दिन नै यौन दुव्र्यवहार सहनुप¥यो । तर सविताले आफू यौन दुव्र्यवहारमा पर्दै छु भन्ने पत्तोसमेत पाइनन् । दोहोरी साँझमा आउने ग्राहकले अश्लील शब्द बोल्ने, शरीरका संवेदशील अंगमा छुने र जिस्काउने गर्न थाले । सुरुमा उनलाई असहज लाग्यो । तर ग्राहक र सञ्चालकबीच पैसामा सहमति भइसकेको रहेछ । सञ्चालकले उनलाई धेरै पैसाको प्रलोभन देखाएर फकाउन थाले । पैसाकै प्रलोभनमा विस्तारै उनी यौन व्यवसायमा फसिन् । निकै वर्ष उनले वाध्यतामा काम गर्नुप¥यो । जाने ठाउँ थिएन, अरू काम पनि सिकेकी थिइनन् । दोहोरी साँझ तथा रात्रि व्यवसायमा यौन व्यवसायमा संलग्न भएको थाहा पाएपछि सवितासहित थुप्रै बालिकालाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो उद्धार ग¥यो ।
काभ्रेकी १५ वर्षीया रमिला (परिवर्तित नाम) दिनहुँ बाबुआमाको झगडाले वाक्क भएर एक वर्षपहिले भागेर काठमाडौं आइन् । बिरानो ठाउँ, चिनेजानेका कोही थिएनन् । उनी काठमाडौंको बसपार्कमा पुगिन् । एक जना होटल सञ्चालकसँग आफू घरबाट भागेर आएको र काम मिलाइदिन आग्रह गरिन् । थापालाई होटल सञ्चालकले काम लगाइदिए । काम गरेबापत खान, बस्न र पैसा दिने विश्वास दिलाए । उनी होटलमै काम गर्न राजी भइन् । केही दिनपछि रमिता पनि यौन दुव्र्यवहारमा परिन् । होटल सञ्चालकले ग्राहकलाई खुसी पार्न दवाब दिन थाले । ग्राहक रिसाए खान, बस्न र पैसा पनि नदिने धम्की दिन थाले । बाध्य भएर उनी यौन व्यवसायमा लागिन् । केही समय पहिले प्रहरीले छापा मार्ने क्रममा उनलाई उद्धार ग¥यो ।
सविता, रमिता र निकिता प्रतिनिधि पात्र हुन् । उनीहरु तीनै जना अहिले माइती नेपालको सेल्टरमा छन् । देशभरका मुख्य सहरका होटल, दोहरी साँझ, नाच घर, खाजा घर, मसाज सेन्टरमा बालबालिका नाजायज काममा प्रयोग भइरहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले शंका लागेका र सूचना प्राप्त भएको होटल, मसाज सेन्टर, दोहरी साँझमा छापा हान्ने र उद्धार गर्ने कामम सक्रियता बढाउँदै आएको छ ।
विगत चार महिनायता काठमाडौंका विभिन्न मसाज सेन्टर र दोहरी साँझबाट सात जना वेश्यावृतिमा संलग्न नाबालिकालाई उद्धार गरेको ब्युरोले जनाएको छ । गत आर्थिक वर्ष २० जना बालिकालाई उद्धार गरिएको थियो । ब्युरोका सूचना अधिकारी विश्वराज खड्काले भने, ‘नाबालिकाको प्रयोग भएको सूचना पाएमा तत्काल उद्धार गर्छौं, मुद्दाको प्रकृति हेरेर कसैलाई परिवारको जिम्मा लगाउँछौं, कसैको मुद्दा दर्ता गर्छौं ।’
नाबालिकबाहेक अन्य महिला पनि वेश्यावृतिमा संलग्न भएको सूचना पाएमा उद्धार गर्ने र वेश्यावृतिमा लगाउने सचालकलाई कानुनी कारबाही गर्ने उनले बताए । ‘उद्धार गरिएका बालिकालाई सेफ हाउसमा समन्वय गरेर पठाउने गर्छौं,’ उनले भने ।
आर्थिक अवस्था कमजोर भएका, बाबुआमा अलग भएर बसेका परिवारका बालिका छिटो पैसा कमाउने प्रलोभनमा वेश्यावृतिमा लाग्ने गरेको पाइएको माइती नेपालका सञ्चार अधिकृत संहिता भट्टराईले बताइन् । ‘माइती नेपालमा उद्धार गरेर ल्याइएका बालिकाहरू ड्रग्स सेवनसमेत गर्ने पाइएको छ,’ उनले भनिन्, ‘उनीहरूको उपचार गरेर पढाइमा नै जोड गर्छौं ।’
१८ वर्षदेखि माथि उमेर भएका महिलाहरूको हकमा भने उनीहरूले चाहेको सिपको तालिमको व्यवस्था गरेको उनले बताइन् । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा १५ खण्ड (ख) अनुसार १० वर्ष कैद, ५० हजार जरिमाना र दफा १७ बमोजिम पीडितलाई २५ हजार रुपैयाँ क्षतिपूर्ति तिराउने कानुनी व्यवस्था छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसार वेश्यावृति गराएको कसुरमा १० वर्ष र अन्यत्रबाट ल्याई वेश्यावृतिमा संलगन गराएको पाइए थप सात वर्ष कैद सजाय तोकिएको छ । सो ऐनअनुसार, कसैले कसैलाई वेश्यावृत्तिमा लगाउन वा वेश्यावृतिमा संलग्न गराउने, मध्यस्थताको काम गर्ने, लाभ लिने कार्यलाई अवैध मानिन्छ । १८ वर्षभन्दा कम उमेर भएकासँग सहमतिमा यौन सम्पर्क, यौन व्यवसाय वा यौन दुव्र्यवहार कानुनविरुद्ध मानिन्छ ।