२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सक्रिय अख्तियार 

तीन महिनामा ३६ मुद्दा, १ सय ७६ जना भष्टाचारी ठहर

shivam cement
मुकुन्द लामिछाने
२०८२ मंसिर १९ गते ०८:०९
Shares
सक्रिय अख्तियार 

काठमाडौं : पछिल्लो तीन महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले ३६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । यो जेनजी आन्दोलनयताको तीन महिनाको तथ्यांक हो । 

भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जेनजी पुस्ताले २३ र २४ भदौमा आन्दोलन गरेका थिए । सो आन्दोलनपछि अख्तियार थप सक्रिय भएको हो । अख्तियारका अधिकारी मुद्दा दर्ताको संख्यामा केही बढोत्तरी भएको बताउँछन् । 
पछिल्लो तीन महिना असोज, कात्तिक र मंसिर महिनाको बिहीबारसम्म अख्तियारले विशेष अदालतमा लगेको मुद्दाको संख्या मात्रै ३६ छ । जसमा अख्तियारले १ सय ७६ जना भष्टाचारी ठहर गरेको छ । यद्यपि, अख्तियारले भ्रष्टाचारी ठहर गर्दै मुद्दा दायर गरेका कानुनी परीक्षण हुन बाँकी छ । 

अख्तियारले असोज महिनामा १२ वटा मुद्दा लगेको थियो । जसमा ६५ जना भ्रष्टाचारका आरोपित रहेका छन् । कात्तिक महिनामा ११ वटा मुद्दा लगेकामा २५ जनाविरुद्ध भ्रष्टाचारको आरोप छ । 

मंसिर महिनाको चालू अवधिको हालसम्म (बिहीबार)सम्म अख्तियारले १३ वटा मुद्दा विशेष अदालतमा दायर गरिसकेको छ । जसमा ७६ जना भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको अख्तियारको ठहर छ । यो तथ्यांक अख्तियारले गत असोज ३ गतेयता विशेष अदालतमा लगेका मुद्दासँग सम्बन्धित छ । 

अख्तियारले दायर गरेको पछिल्लो मुद्दा हो– भक्तपुरको नलिञ्चोकमा निर्माण भएको हेलिपोर्ट निर्माणमा भएको भनिएको भ्रष्टाचार । यो हेलिपोर्ट नेपाल नागरिक उड्यन प्राधिकरणले निर्माण गरेको हो । जसमा भ्रष्टाचार भएको भनेर परेको उजुरीका सम्बन्धमा अनुसन्धान गरेर अख्तियारले मुद्दा लगेको हो ।

जसमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारीसमेत ६ जनालाई अख्तियारले भ्रष्टाचारमा संलग्न रहेको ठहर गरेको छ । यसमा अभियन्त्र कन्सल्टिङ प्रालिउपर सार्वजनिक पनि सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ । 

अख्तियारले मुद्दा दायर गरेसँगै क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परिसकेका छन् । उनलाई बुधबार नै पक्राउ गरिएको हो । 

अख्तियारले अधिकारीसँगै क्यानका पूर्वमहानिर्देशक मुरारी भण्डारीलाई पनि नियन्त्रणमा लिएको छ ।
यसअघि सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कटहरिया नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाशसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । त्यसमा सरिता फाउन्डेसन काठमाडौंउपर समेत भ्रष्टाचारको मुद्दा छ । 

नरहरिनाथ गाउँपालिका, कालिकोटका तत्कालीन उपाध्यक्ष मनशोभा बुढा र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपानेविरुद्ध समेत मुद्दा परेको छ । 

उनीहरूसहित नरहरिनाथ गाउँपालिका कालिकोटका–७ का तत्कालीन वडा अध्यक्ष दलबहादुर विश्वकर्मासमेत आठ जनाउपर गैरकानुनी लाभ तथा हानि पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको हो । 

उक्त गाउँपालिकाका तत्कालीन उपाध्यक्ष मनशोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नम्बर ७ का तत्कालीन वडा अध्यक्ष दलबहादुर विश्वकर्मासमेत भ्रष्टाचारको मुद्दा परेको छ । 

स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्राविरुद्ध समेत भ्रष्टाचार आरोप लगेको छ । गत कात्तिक २ गते अख्तियारले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. मिश्रासहित १४ जनाउपर भ्रष्टाचारको मुद्दा विशेष अदालतमा लगेको थियो । 

स्वास्थ्य सेवा विभागको  म्यामोग्राफी मेसिन खरिद क्रममा लागत अनुमान तयार गर्दादेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई सम्झौताको सर्तबमोजिमको सम्पूर्ण सामग्री प्राप्त नै नभएको अवस्थामा बदनियत राखी सम्पूर्ण सामग्री आएको अख्तियारको ठहर छ । गलत ढुवानी परीक्षण रिर्पोट प्रतिवेदन दाखिला गरेको, झुट्टा बिल बिजकलगायत तयार गरी गराई भुक्तानी दिई लिई भ्रष्टाचार गरेको भनेर अख्तियारले मुद्दा लगेको हो । यसमा तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जना आरोपित रहेका छन् । 
 

सम्बन्धित खबर