
रौतहट : रौतहटको चन्द्रनिगाहपुर–गौर सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घटना शुक्रबार अपराह्न चन्द्रपुर नगरपालिका–६ स्थित मोतियाही पुल नजिक भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार गौरबाट चन्द्रनिगाहपुरतर्फ आइरहेको बस र विपरीत दिशाबाट गएको मोटरसाइकल ठोक्किएपछि दुर्घटना भएको हो । मोटरसाइकल चालक वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको निधन भएको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि घाइते अवस्थामै पटेललाई स्थानीय अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा शुक्रबार साँझ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । मोटरसाइकलमा सवार उनका तीन बालबालिका पनि घाइते भएका छन् । घाइतेहरूमा १५ वर्षीय प्रिन्स कुमार पटेल, १२ वर्षीय युवराज पटेल र ११ वर्षीया आकृति पटेल रहेका छन् ।
उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस र चालकलाई नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।