२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पक्ष–विपक्षमा खुले पदाधिकारी  

shivam cement
२०८२ मंसिर २० गते ०७:००
Shares
पक्ष–विपक्षमा खुले पदाधिकारी  

 काठमाडौंः ११औं महाधिवेशन नजिकिँदै जाँदा नेकपा एमालेका वर्तमान पदाधिकारीले नेता छनोट गरेर कित्ताकाट गरेका छन् । १९ पदाधिकारीमध्ये १२ जना केपी शर्मा ओली पक्षमा खुलेर लागेका हुन् । त्यस्तै, एक जना सचिव कारागारमा छन् भने बाँकी ६ पदाधिकारी ईश्वर पोखरेलका पक्षमा उभिएका हुन् । 

एमालेका सचिव टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेपछि लामो समयदेखि निलम्बनमा छन् । मंसिर २७ गतेबाट सुरु हुने ११औं महाधिवेशनमा अध्यक्ष पदमा हालका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यालनसहित प्रतिस्पर्धाको तयारी छन । यही तयारीअनुसार हाल एमालेमा रहेका १८ पदाधिकारीमध्ये ओली पक्षमा १२ जना र पोखरेल पक्षमा ६ जना देखिएका हुन् ।  

महाधिवेशनमा उम्मेदवारी दिँदा दुवै पक्षले आआफ्ना तर्फको प्यानल बनाएरै अघि बढ्ने तीव्र गृहकार्य भइरहेको छ । एमाले सचिव योगेश भट्टराईले पार्टीको ११औं महाधिवेशन स्वस्थ प्रतिस्पर्धाबाटै सम्पन्न हुने बताए । उनले मध्यान्हसँग भने, ‘महाधिवेशनमा प्रतिस्पर्धा हुने देखियो । ईश्वर पोखरेल र केपी ओलीबीचको प्रतिस्पर्धामा प्यानलै बन्ने अवस्था छ ।’

तर उनीहरू एकअर्का समूहमा रहेकाहरूको नाम हेरर मात्र अन्तिम समयमा मात्रै प्यानल सार्वजनिक गर्ने रणनीतिमा छ । अहिले नै प्यानल सार्वजनिक गर्दा विपक्षीले रणनीति बदल्ने भएकाले अध्यक्षबाहेकको प्यानल अन्तिम समयमा घोषणा गर्न लागिएको दुवै समूहका नेताहरूले बताएका छन् ।   

अहिले उपाध्यक्ष रामबहादुर थापा, विष्णुप्रसाद पौडेल र गुरुप्रसाद बराल ओलीको पक्षमा खुलेका हुन् । त्यस्तै, महासचिव शंकर पोखरेलसहित उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमाल र पृथ्वीसुब्बा गुरुङ पनि ओली पक्षमै खुलेका छन् । ६ सचिवहरूमध्ये चार जना लेखराज भट्ट, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र पद्मा अर्याल पनि ओली पक्षमा खुलेका छन् । 

ओलीको पक्षमा खुलेका नेताहरू अहिलेको विषम परिस्थितिमा ओलीको विकल्प खोज्न नहुने बताउँदै ओलीलाई सहयोग गर्ने बताउँछन् । उनीहरू दैनिकजसो एमालेनिकट प्रेस चौतारीको कार्यालय पुगेर ओलीको पक्षमा रहेको भन्दै कित्ताकाट गरिरहेका छन् । नेताहरू थापा, पौडेल, गुरुङ, रिमालले शुक्रबार ओलीको पक्षमा कित्ताकाट गरेको बताए । त्यस्तै, प्रदीप ज्ञवाली, लेखराज भट्ट, रघुवीर महासेठ, छविलाल विश्वकर्मालगायतले पनि विभिन्न फोरममार्फत ओलीलाई साथ दिने घोषणा गरिरहेका छन् । 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई तीन जना उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी र सुरेन्द्र पाण्डेले साथ दिने भएका छन् । त्यस्तै, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई पनि पोखरेललाई साथ दिँदै सोही समूहबाट महाधिवेशनमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् । मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा एमालेको महाधिवेशन उद्घाटन गरेर २८ गतेबाट काठमाडौंको भृकुटीमण्डपमा बन्द सत्र हुनेछ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समेत साथ र समर्थन रहेको छ । यद्यपि भण्डारी एमालेको सदस्यसमेत नभएकाले उनी पक्षधरले पोखरेलको समूहलाई मत दिएर समर्थन गर्ने तयारी गरेका छन् । ओलीले तेस्रो कार्यकाल अध्यक्ष बन्ने चाहना राखेसँगै पोखरेलले ओलीसँग प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् । 

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि एमालेको विद्या भण्डारी समूह र विगतमा नेकपा कालको १० बुँदे पक्षधर भनेर चिनिएका नेताहरूले ओलीलाई नेतृत्व हस्तान्तरण गर्न दबाब दिँदै आएका थिए । उनीहरूले जेनजी आन्दोलनको भावनाअनुसार पार्टी रूपान्तरणको मुद्दासमेत अघि सार्दै आएका छन् । ओली प्रधानमन्त्री भएको बेला घटेको घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने पक्षमा संस्थापनइतर समूहका नेता छन् । तर ओली सो घटनाको अझैसम्म पनि जिम्मेवारी लिन चाहिरहेका छैनन् । तर ओली समूहले भने जेनजी आन्दोलनलाई विदेशी षड्यन्त्रका रूपमा व्याख्या गरिरहेको छ ।  

ओली पक्ष
१. केपी शर्मा ओली
२. रामबहादुर थापा
३. विष्णुप्रसाद पौडेल
४. गुरुप्रसाद बराल
५. शंकर पोखरेल
६. प्रदीप ज्ञवाली
७. विष्णु रिमाल
८. पृथ्वीसुब्बा गुरुङ
९. लेखराज भट्ट
१०. छविलाल विश्वकर्मा
११. रघुवीर महासेठ
१२. पद्मा अर्याल

पोखरेल पक्ष

१. ईश्वर पोखरेल
२. युवराज ज्ञवाली
३. अष्टलक्ष्मी शाक्य
४. सुरेन्द्र पाण्डे
५. गोकर्ण विष्ट
६. योगेश भट्टराई

सम्बन्धित खबर