२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

गण्डकी प्रदेश समन्वय परिषद् कतारले मनायो नवौँ स्थापना दिवस 

shivam cement
तिलु शर्मा पौडेल
२०८२ मंसिर २० गते १३:१२
Shares
गण्डकी प्रदेश समन्वय परिषद् कतारले मनायो नवौँ स्थापना दिवस 

दोहा कतार : गण्डकी प्रदेश समन्वय परिषद् कतारले आफ्नो नवौँ स्थापना दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ ।शुक्रबार फूलबारीको रेष्टुरेन्टुको सभा हलमा गण्डकी प्रदेशबाट कतारमा आइ विभिन्न व्यवसाय गरिरहेका व्यवसायीसँग स्नेह मिलन एवं सम्मान समारोह गर्दै स्थापना दिवस मनाएको हो ।

अध्यक्ष नन्दलाल विक (अजय)को सभाध्यक्ष तथा सामाजिक व्यक्तित्व तथा कतारका सफल व्यवसायी राज रेग्मीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममार्फत प्रदेश मातहतका सबै व्यवसायीलाई ढाका टोपी, दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो । प्रदेशभित्र ४२ जना व्यवसायी रहेको तथ्यांक प्रदेश समक्ष आइ पुगेको हुँदा अन्य व्यवसायीहरुलाई पनि सम्पर्कमा आउन कार्यक्रमका सहजकर्ता तथा परिषद्का महासचिव मन प्रसाद राना मगरले आग्रह गरे ।

कार्यक्रममा कतार स्थापित विभिन्न संघसंस्थाका पदाधिकारीहरू, परिषद्का सल्लाहकार तथा सदस्यहरूको उपस्थिति रहेको थियो । विधिवत् उद्घाटन गरिएको कार्यक्रममा उपस्थितलाई वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन अर्यालले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरूले गण्डकी प्रदेशले व्यवसायीहरूको सम्मान गरेर नयाँ कार्यको थालनीसहित व्यवसायका लागि हौसला दिएको भन्दै प्रशंसा गरेका थिए । जुन देशमा व्यवसायका लागि सहजता र सम्मान हुन्छ त्यहाँ देश तथा व्यक्तिको पनि प्रगति हुने धारणा राखेका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले प्रदेशले पृथक कार्यक्रमको आयोजना गरेकोमा कृतज्ञता प्रकट गर्दै प्रशंसा गरे । उनले भविष्यमा परिषद्ले इन्भेस्टमेन्ट कम्पनी सञ्चालन गर्दै लगानीको लागि नयाँ शिरा निर्माण गर्न सके सुनौलो भविष्यका लागी कोशे ढुंगा बन्ने विश्वास व्यक्त गर्दै नेपालमा गण्डकी प्रदेशभित्र थुप्रै परियोजना सञ्चालनमा रहेको र ती परियोजनामा लगानी गर्न सकिने हुँदा अब परिषद्ले लगानी उन्मुख कार्यक्रम गर्न सुझाव दिए । रेग्मीलाई दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो । 

गायिका तारा विसी, नृत्याङ्गना अनिता परियार र गिरीमाया थापा कार्यक्रममा आकर्षक नृत्य पेस गरेका थिए । कार्यक्रमको समापन गर्दै सभाध्यक्ष विकले परिषद्ले पहिलो पटक व्यवसायीहरूको तथ्यांक संकलन गर्दै सम्मान गर्ने कोसिस गरे पनि यो पूर्ण नभएको र अन्य व्यवसायीहरू छुटेको हुँदा छिट्टै समेट्ने बताए । उनले कतारमा रहेका व्यवसायीले नेपालमा पनि लगानी गर्न सके प्रवासमा जस्तै सम्बन्ध नेपालमा रहने र भाइचारा बढ्ने विश्वास व्यक्त गरे । विकले परिषद्को स्थापना कालदेखि बहालवाला कार्यसमितिसहित कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै परिषद्ले सञ्चालन गरेको चिठ्ठा कार्यक्रमको नतिजा खोलिएको छ । सार्वजनिक नतिजा अनुसार प्रथम पुरस्कार १० ग्राम सुन चिठ्ठा नम्बर २८८० मा अन्विन्ता रानाले जितेकी छिन् । द्धितीय पुरस्कारका रूपमा रहेको ल्यापटप चिठ्ठा नम्बर २२२२ मा पर्वत समाज कतारका अध्यक्ष सन्तोष क्षेत्रीले जितेका छन् । त्यस्तै तृतीय पुरस्कार स्मार्ट घडी चिठ्ठा नम्बर १५३६ लाई परेको छ । सान्त्वना पुरस्कार ७ जनालाई प्रदान गरिएको छ । जसअन्तर्गत चिठ्ठा नम्बर क्रमशः १९६४, २३८२, १६९, ५२३, १७८४, १७४ र १४९४ रहेका छन् । विजेताले अर्धकट्टीसहित १५ दिनभित्र परिषदमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।  

सम्बन्धित खबर