
काठमाडौं : शहरी विकासमन्त्री कुलमान घिसिङले काठमाडौं उपत्यकाभित्रका नदीहरू सफा गर्न ठूलो संख्यामा फोहोर पानी प्रशोधन (वेस्ट वोटर ट्रीटमेन्ट) प्लान्ट निर्माण आवश्यक रहेको बताएका छन् ।
शनिबार थापाथलीस्थित वागमती करिडोरमा निर्माणाधीन प्रशोधन प्लान्टको निरीक्षण गर्दै उनले उपत्यकाका सबै नदी सफा गर्न दैनिक करिब ६ सय एमएलडी क्षमताका प्लान्टहरूको आवश्यकता पर्ने जानकारी दिएका हुन् ।
मन्त्री घिसिङका अनुसार हाल उपत्यकामा निर्माण भइरहेको प्लान्टहरू आवश्यक क्षमताको करिब २० प्रतिशत मात्र छन् । वागमती नदी सफाइका लागि गुह्येश्वरीमा एक प्लान्ट सञ्चालनमा आइसकेको र अन्य स्थानमा साना–ठूला प्लान्टहरू निर्माण भइरहेका उनले बताए ।
थापाथली करिडोरमा निर्माण भइरहेको प्लान्टले टुकुचा खोला प्रणालीबाट आउने फोहोर पानी प्रशोधन गरी वागमतीमा प्रवाह गरिने उनले स्पष्ट पारे । एशियाली विकास बैंक (एडिबी)को ३ अर्ब १८ करोड रुपैयाँ लगानीमा उक्त परियोजना अघि बढिरहेको पनि उनले बताए ।
रुख कटानी प्रक्रियामा ढिलाइ र ललितपुरतर्फ पर्ने भू–भागमा स्थानीयको विरोधका कारण निर्माणमा अवरोध भएको स्वीकार गर्दै मन्त्री घिसिङले यसले पूरै परियोजनामा केही ढिलाइ ल्याएको बताए । विवाद समाधानका लागि छलफल जारी रहेको उनले जानकारी दिए ।
उनका अनुसार काठमाडौं र ललितपुर महानगर क्षेत्रभित्र निर्माण भइरहेको संरचना करिब डेढ वर्षभित्र सम्पन्न हुने अनुमान छ । मन्त्री घिसिङले भने, ‘वागमती, विष्णुमतीदेखि धोबीखोला सबै सफा गर्न प्रशोधन प्लान्टहरू धेरै ठाउँमा बनाउने योजना छ । नदी सफा देखाउनका लागि प्रशोधन प्लान्ट निर्माण अपरिहार्य छ ।’
रुख कटानी प्रक्रिया सजिलो नहुँदा धेरै विकास परियोजनामा ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले नदीका ढल प्रशोधनका कामलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताए ।