
बागलुङ : पहिले भलकोट र बुढाथोक गाउँका बासिन्दा खानेपानीको गम्भीर अभाव झेलिरहेका थिए । एउटै धाराबाट १० घरका मानिसले लाइन बसेर पानी भर्नुपर्ने बाध्यता थियो । तर, अहिले स्थिति पूर्णरूपमा बदलिएर हरेक घरको आँगनमै धारा पुगेपछि स्थानीय खुशीले गदगद छन् ।
निसीखोला गाउँपालिका–६ भित्र सञ्चालित ‘एक घर, एक धारा’ कार्यक्रमले गाउँको दैनिकी नै परिवर्तन गरिदिएको छ । पहिले एक गाग्री पानीका लागि घण्टौं कुर्नुपर्थ्यो । अब भने घरघरसम्म पानी पुगेपछि स्थानीयले फोहर र कम मात्राको पानी प्रयोग गर्नु पर्ने बाध्यता हटेको छ ।
‘धेरै वर्षअघि बनेका धाराबाट पानी नपुगेर खोलामा धाउनुपर्थ्यो, आजभोलि नयाँ सुविधाले जीवन सहज बन्दै गएको बताएको छ,’ स्थानीय बासिन्दा भन्छन्, ‘अब घरमै धारा भएपछि पहिलेजस्तो समस्या छैन, तर मर्मतसम्भार भने निरन्तर गर्नैपर्छ ।’
यस्तै, स्थानीय पुनीकला पुनका अनुसार पानी लिन, नुहाउन वा कपडा धुनसमेत निकै कठिनाइ थियो । ‘अब घरमै धारा बनेपछि खानेपानीको चिन्ता छैन, । स्थानीयहरूको भनाइअनुसार अहिले गाउँमा खानेपानीको कुनै अभाव छैन र गाउँपालिकाले गरेको काम उल्लेखनीय छ ।
गाउँपालिका र ‘नेपाल स्वास्थ्यका लागि पानी’ (नेवा) संस्थाको साझेदारीमा ‘एक घर, एक धारा’ कार्यक्रम अघि बढाइएको हो । भल्कोटमा मोराखेला खानेपानी आयोजनामार्फत ५५ धारा निर्माण गरिएको छ । यसका लागि नेवाले १३ लाख ३० हजार १ सय १३, गाउँपालिकाले ७ लाख ७ हजार ७ सय ७७ तथा स्थानीयको जनश्रमदान ८ लाख ६ हजार ३ सय ७१ गरी कूल २८ लाख ३७ हजार २ सय ६१ खर्च भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए ।
मोराखोलाबाट ४ हजार ९ सय १५ मिटर पाइप बिछ्याएर घरघरमा पानी पुर्याइएको छ । बुढाथोकमा भने नेवाको ११ लाख ५५ हजार १५, गाउँपालिकाको ६ लाख ६४ हजार ९ सय ५५ र जनश्रमदान ६ लाख ५७ हजार ९ सय ८ सहित कूल २४ लाख ७७ हजार ८ सय ७८ लागतमा ३९ धारा निर्माण गरिएको छ ।
उनका अनुसार बुढाथोकमा २ सय मिटर टाढाको मुहानबाट पाइप बिछ्याएर पानी वितरण गरिएको हो । अध्यक्ष घर्तीमगरले भने, ‘यस क्षेत्रका बासिन्दाले लामो समयदेखि खानेपानीको समस्या भोगेका थिए । जनसंख्या बढ्दै गएपछि पानी अभाव झनै बढ्यो । त्यसैले नेवा संस्थासँग सहकार्य गरेर धारा निर्माण गर्नुपर्यो। यहाँ मात्र होइन, पानी अभाव भएका अन्य क्षेत्रमा पनि आयोजनाहरू सञ्चालन भइरहेको छ ।’