
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्ता समीकरण अब अन्य प्रदेशमा पनि प्रभाव पार्ने दाबी गरेका छन् ।
शनिबार जनकपुरमा सम्पन्न पार्टीको मधेश प्रदेशस्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले मधेश प्रदेश सरकार गठनको क्रममा परम्परागत समीकरण तोडिएर नयाँ समीकरण स्थापना भएको बताए ।
उनले भने, ‘मधेशले परम्परागत समीकरणको पछि नलगी नयाँ सरकार निर्माण गरेको छ । यो नयाँ समीकरण अब देशका अन्य प्रदेशमा पनि फैलिनेछ ।’
प्रचण्डले जेनजी आन्दोलनपश्चात मुलुकमा व्यापक आत्मसमिक्षा भएको र त्यसले विकासतर्फ नयाँ ढंगले अघि बढ्ने अवसर प्रदान गरेको उल्लेख गरे । उनले सबै जनताको एकता मात्रै प्रतिगमन र प्रतिक्रियावादी शक्तिलाई परास्त गरी मुलुकलाई अघि बढाउन सक्षम हुने दाबी पनि गरे ।
उनले नेकपा सबै कम्युनिस्ट शक्तिलाई एकताबद्ध गर्दै अघि बढ्ने र मधेश प्रदेशमा सुरु भएका महत्त्वपूर्ण विकास परियोजनाहरू पूरा गर्ने काम पनि कम्युनिस्ट सरकारले नै गर्ने बताए ।