
काठमाडौँ : शनिवार सातवटा सवारी साधन एकै ठाउँमा ठोकिँदा धादिङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
साँझ पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-६ चालिसेमा ७ वटा सवारी साधन एकै ठाउँमा ठोकिँदा ७० जना घाइते भएका थिए। घाइतेमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मृतकमध्ये एकजना दुर्घटनामा परेको मोटरसाइकल चालक धादिङको थाक्रे गाउँपालिका ६ मादिवेसी बस्ने ५९ शेख अली एस छन् ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये सामान्य अवस्थाका ५१ जना उपचारपछि डिस्चार्ज भएका छन् । बाँकी १७ जना घाइतेको काठमाडौँको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ट्रमाका १७ घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेका धेरै घाइतेको स्थानीय अस्पतालमा उपचार गरिएको थियो ।
काठमाडौँबाट गजुरी जाँदै गरेको बा.प्र.००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बिए ४६५४ नम्बरको भारतीय गाडी (डिब्बा), ना.४ ख ७१५ नम्बरको ट्रक, लु.९५ प ३०७ नम्बरको मोटरसाइकल, जिजे-३ ए के ३२३१ नम्बरको बस, काठमाडौँ जाँदै गरेको ग.१ ख ८५५१ नम्बरको बस र बा.१ प ९१७ नम्बरको पर्यटक बस दुर्घटनामा परेको हो ।