
काठमाडौं : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १ सय २ वटा राजनीतिक दल एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । १ सय २० वटा राजनीतिक दलले निर्वाचनका लागि निवेदन दिएकोमध्ये १ सय २ वटा दलले एक्लाएक्लै निर्वाचनमा प्रतिस्पर्धाका गर्ने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
१२ वटा राजनितिक दलले भने संयुक्त रूपमा एकल चिन्ह प्रयोग गरी निर्वाचनमा जानेगरी आयोगमा निवेदन दिएको उनले बताए । उनकाअनुसार १२ वटा राजनितिक दलले विभिन्न समूह बनाएर ५ वटा चुनाव चिन्ह प्रयोग गरी निर्वाचनमा भाग लिनेछन् ।
एकल चुनाव चिन्ह र संयुक्त चुनाव चिन्ह प्रयोग गरी १ सय १४ वटा राजनितिक दलले निर्वाचनमा भाग लिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिए । उनका अनुसार प्रतिनिधिसभा निर्वाचनमा १ सय १४ वटा दल १ सय ७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन् । आयोगले राजनितिक दलहरूको निवेदन स्वीकृत गरिसकेको छ ।
उनले भने, ‘हामीलाई छुट्टाछुट्टै निर्वाचनमा भाग लिनको लागि र एकल चुनाव चिन्ह लिएर निर्वाचनमा जानको लागी विभिन्न १२० वटा निवेदन प्राप्त भएका थिए । १२० वटा निवेदन प्राप्त भएकोमध्ये १०२ वटा दलले आफू मात्रै एक्लै चुनावमा जानेगरि निवेदन दिनुभएकोमा उहाँहरूको निवेदन स्वीकृत भएको छ । १२ वटा दलले संयुक्त रूपमा, १२ वटा एउटै समूहमा होइन, कुनैमा दुई दल कुनैमा तीन दल मिलेर एकल चुनाव चिन्ह प्रयोग गर्नेगरी दल दर्ताको निवेदन दिनुभएको थियो । त्यसमध्ये १२ वटा दलको ५ वटा निर्वाचन चिन्ह प्रयोग गर्नेगरि स्वीकृत भएको छ । १ सय २० वटा निवेदनमध्ये १ सय १४ वटा दलले निर्वाचनमा भाग लिन पाउने भएका छन् । १ सय १४ मध्ये १ सय २ दलले आ–आफ्नो निर्वाचन चिन्ह प्रयोग गरेर जाने र १२ वटा दलले विभिन्न समुहमा रहेर ५ वटा निर्वाचन चिन्ह प्रयाग गरेर निर्वाचनमा जानेगरि प्रतिनिधिसभा निर्वाचनमा १ सय १४ वटा दल १ सय ७ वटा चिन्हमार्फत निर्वाचनमा सहभागी हुनेछन् ।’
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आइतवारबाट सुरु गरेको छ । समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलले मंगलवारसम्म निवेदन दिन सक्नेछन् । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गरिनेछ भने आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेद्वारको बन्दसूची पेस गर्ने समय तोकिएको छ । बन्दसूची पेस गर्दा ५० प्रतिशत महिला हुनुपर्ने आयोगले जनाएको छ । प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेद्वारी मनोनयन गर्ने कार्यतालिका छ ।
समावेशी समाजवादी पार्टीको अध्यक्ष नुमा लिम्बूले निर्वाचनका लागि आफ्नो पार्टीले प्रदेश, जिल्ला, स्थानीय, वडाहरू सबैतिर संरचना विस्तार गरेर तयार गरिरहेको जानकारी दिइन् । लैंगिक तथा अल्पसंख्यक समुदाय, आदीवासी, जनजाति, मनोरञ्जन क्षेत्रका सबैलाई सहभागी गराएर निर्वाचनको तयारी गरिरहेको उनले बताइन् ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शिक्षा, स्वास्थ्य निःशुल्क हुनुपर्ने माग आफूहरूको रहेको बताए । युवाहरुलाई देशमा रोजगारी दिनुपर्ने, नेपालीको सम्पतीको सीमांकन हुनुपर्ने, विदेशमा सम्पती राख्न नपाउने, उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण गर्नुपर्ने माग राखे । असमान सन्धि, सम्झौता खारेज हुनुपर्ने माग गरे । समानुपातिक निर्वाचनमा भाग लिन निवेदन दिने प्रक्रियाका लागी राजनितिक दलहरु निर्वाचन आयोगमा जाने क्रम बढेको छ । –न्युज एजेन्सी नेपाल