२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

जसपा नेपालद्वारा जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि धर्ना

shivam cement
सत्येन्द्र प्रताप सिंह
२०८२ मंसिर २१ गते १९:०५
Shares
जसपा नेपालद्वारा जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि धर्ना

रौतहट : मुलुकमा बढ्दो राजनीतिक अन्योल, बेथिति र जनजीविकासम्बन्धी समस्याको समाधान माग गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार रौतहटको गौरस्थित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला उपाध्यक्ष अमरुल हकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिइएको हो ।

धर्नामा पूर्वकृषि राज्यमन्त्री योगेन्द्र यादवले संविधान संशोधन/पुनर्लेखन, पहिचानमा आधारित संघीयताको संस्थागत विकास र सुशासनको प्रत्याभूतिलाई प्राथमिकताका साथ अघि सारे । उनले वर्तमान राजनीतिक अवस्थालाई सर्वत्र अन्योल र आशंका व्याप्त रहेको भन्दै दीर्घकालीन समाधानका लागि संविधानकै मूल संरचनामा व्यापक सुधार आवश्यक भएको बताए ।

जसपा नेपालले २८ बुँदामा देशका प्रमुख संवैधानिक, राजनीतिक र सामाजिक समस्या समाधानका लागि निम्न सुधारहरू तत्काल आवश्यक रहेको जनाएको छ ।

राष्ट्रिय/जातीय पहिचान झल्कने गरी २०६८ को उच्चस्तरीय आयोगको प्रतिवेदन अनुसार पुनः राज्य पुनर्संरचना गर्नुपर्ने, प्रदेशहरूलाई स्वायत्त र अधिकारसम्पन्न बनाउँदै स्वशासन र संघमा साझेदारी सुनिश्चित गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली र समानुपातिक समावेशी संसदको व्यवस्था गर्नुपर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने, समान जनसंख्या आधारमा नयाँ निर्वाचन क्षेत्र निर्धारण गरी दलित र महिलाका लागि आरक्षित क्षेत्र कायम गर्नुपर्ने तथा स्थानीय तहलाई प्रदेशअन्तर्गत राखी गैर-दलीय आधारमा निर्वाचन गर्नुपर्ने माग जसपा नेपालको छ ।

यस्तै जसपा नेपालले मधेशी, आदिवासी जनजाति, थारू, दलित, पिछडावर्ग, महिला, मुस्लिमसहित सीमान्तकृत समुदायको राष्ट्रिय पहिचान र राज्य संरचनामा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्ने, विगतका सम्पूर्ण भ्रष्टाचार काण्डको छानबिन गरी दोषीमाथि कडा कारबाही गगर्नुपर्ने र शिक्षा, स्वास्थ्य र रोजगारीमा भइरहेको माफियाकरण अन्त्य गर्दै राज्यले सर्वजनका लागि गुणस्तरीय सेवा सुनिश्चित गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै जसपा नेपालले राष्ट्रिय युवा नीति बनाएर बेरोजगार युवालाई रोजगारीको व्यवस्था तथा रोजगारी नपाएसम्म बेरोजगारी भत्ता दिनुपर्ने, किसानलाई सहुलियत ऋण, मल, बीउ र बजार सुनिश्चित गर्दै कृषिको व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरण अघि बढाउनुपर्ने, बढ्दो महँगी नियन्त्रणका लागि विपन्न वर्गका लागि रासन कार्डमार्फत सस्तो दरमा खाद्यान्न उपलब्ध गराउनुपर्ने, मधेश जनविद्रोह, थरूहटलगायतका आन्दोलनकारीमाथि लगाइएका मुद्दा खारेज गरी राजबन्दीहरूलाई रिहा गर्नुपर्ने, कोशी प्रदेशको नाम त्यहाँको पहिचानअनुरूप पुनः नामकरण गर्नुपर्ने तथा किराँत–लिम्बू समुदायको आस्थाको केन्द्र मुक्कुमलुङ सम्बन्धी आन्दोलनप्रति समर्थन जनाउँदै समस्या वार्तामार्फत समाधान गर्न माग गर्नुपर्ने पनि माग गरेको छ ।

धर्नामा पूर्व कृषि राज्यमन्त्री योगेन्द्र यादव, विश्वनाथ पटेल, के.एस. चुल्हाई राय यादव, किरण ठाकुर, जिल्ला सचिव शम्भुप्रसाद यादव, कार्यालय सचिव दिनेश कुमार यादव, मुस्लिम संघ जिल्ला अध्यक्ष प्रवेज आलम, दलित संघ अध्यक्ष उदयरामलगायत दजर्नौं नेता तथा कार्यकर्ता उपस्थित थिए ।

सम्बन्धित खबर