२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

ट्रम्प आएपछि डिपोर्ट भए ३ सय ५१ नेपाली

shivam cement
सपना बोहरा
२०८२ मंसिर २२ गते ०६:२५
Shares
ट्रम्प आएपछि डिपोर्ट भए ३ सय ५१ नेपाली

काठमाडौं : दाङका एक युवाले आफ्नो अमेरिका जाने सपना पूरा गर्न दलाललाई ९० लाख रुपैयाँ बुझाए । ऋण खोज्दै किस्ताकिस्तामा उनले सो रकम बुझाएका थिए । २०८० सालमा उनी तल्लो बाटो भनिने अवैध मार्ग हुँदै अमेरिका पुगे । तर त्यहाँ पुग्नेबित्तिकै अमेरिकी प्रहरीले पक्राउ गरिहाल्यो र नेपाल फकाईदियो । 

तल्लो बाटो अमेरिका पुग्न उनलाई झन्डै नौ महिना लागेको थियो । तर अमेरिकाबाट नेपाल फर्किन ९ घण्टा पनि लागेन । अमेरिकाले डिपोर्ट गरेर उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगायो । ब्युरोमा हाजिरी लगाएर घर फर्केका उनले जति परामर्श दिए पनि दलालविरुद्ध उजुरी दिएनन् । ‘दाइ नाता पर्ने माध्यमबाट अमेरिका गएको हुँ । पैसा पनि पुरै बुझाएको हुँ,’ ती युवाले मध्यान्हसँग भने, ‘आफ्नै नाता पर्ने दाजुलाई के मुद्दा चलाउनु ।’

अमेरिकाबाट फर्किनुपर्ने स्थितिमा फेरि पठाउन सकिने वा आधा रकम फिर्ता पाउने पूर्वसहमतिमा उनी गएका थिए । अमेरिका जाँदा लिएको ऋणको ब्याज बढेर करोड नाघिसकेको छ । उनीसँग भने अमेरिका जाने सपना अझै जीवितै छ । ‘फेरि जाने मौका मिल्यो भने अमेरिका जाने हो, नेपालको कमाइले ऋण तिरिँदैन,’ ती युवाले भने । 

गत मंसिर ४ गते उनीजस्तै ३५ नेपाली एकै दिन डिपोर्ट भएर काठमाडौं आए । त्यसको हप्ता दिन नपुग्दै अरू दुई नेपाली पनि डिपोर्ट भए । अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति निर्वाचित भएयता ३ सय ५१  जना नेपाली डिपोर्ट भइसकेका छन् ।

निर्वाचित भएपछि ट्रम्पले अमेरिकामा अवैध आप्रवासीप्रति कडा नीति लिएका थिए । जसअनुसार उनले अवैध रूपमा अमेरिकामा बस्दै आएका आप्रवासीहरूलाई फिर्ता गर्ने अभियान सुरु गरे । त्यसो त बितेका ६ वर्षमा अवैध रूपमा अमेरिका पुगेका ५ सय ७८ नेपाली डिपोर्ट भएर घर फर्काइएका छन् ।

डिपोर्ट भएर नेपाल फर्काइएका ७५ जनाले मात्रै मुद्दा दर्ता गराएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । त्यसरी आएका नेपालीलाई न्याय दिलाउन ब्युरोले आवश्यक सहयोग गर्ने भन्दै आएको छ । तर धेरैले उजुरी दिन नचाहेको ब्युरोका सूचना अधिकारी विश्वराज खड्का बताउँछन् । ‘डिपोर्ट भएर आएका अधिकांश नेपाली तल्लो बाटो भनिने अवैध मार्गबाट गएका हुन्,’ सूचना अधिकारी खड्काले भने, ‘मुद्दा दर्ता गराउन आउँछांै भनेर जान्छन् तर फर्केर आउँदैनन् ।’ 

डिपोर्ट भएर आउनेलाई ब्युरोले अमेरिका जाँदा लागेको खर्च, पठाउने व्यक्तिबारे सोधीखोजी गरेर अनुसन्धान गर्छ । ‘अमेरिका पठाउने मान्छे उनीहरूकै नातेदार, चिनेजानेका हुन्छन्,’ उनले भने,  ‘पैसा फिर्ता पाउने केही आस हुन्छ होला । त्यही भएर पनि उजुरी दिन आउँदैनन् ।’

अवैध तरिकाले तल्लोबाट अमेरिका पुगेकाहरूले ८० लाखदेखि १ करोड १० लाख रुपैयाँसम्म एजेन्टलाई पैसा बुझाएको पाइएको छ । विभिन्न देश हुँदै अवैध बाटोबाट अमेरिका पुग्नै पनि महिनांै लाग्छ । त्यसरी पुगेको दुई वर्षपछि पनि अमेरिकाले डिपोर्ट गरेको छ ।

डिपोर्ट भएर आउनेहरू अधिकांश संगठित गिरोहलाई रकम बुझाएर अवैध बाटोबाट अमेरिका प्रवेश गरेको देखिएको खड्काले बताए । विभिन्न देशमा सक्रिय गिरोहमार्फत उनीहरू अवैध ढंगले अमेरिका छिर्ने गरेका छन् । 

अमेरिकाबाट फर्काइएकाहरूमा धेरै दाङ, रोल्पा, पश्चिम रुकुम र पूर्वी रुकुमका रहेको ब्युरोले जनाएको छ । त्यसबाहेक सल्यान, म्याग्दी, पर्वत, बाँके, बागलुङ, सिन्धुपाल्चोक, काठमाडौं, जाजरकोट, दोलखा, कास्की, कैलाली, कञ्चनपुर, गोरखा, जुम्ला, झापा, डोटी, डोल्पा, धनकुटा, पर्सा, मकवानपुर, मुस्ताङ, मोरङ, सिन्धुली र सुनसरीका पनि छन् । 

अमेरिकामा विद्यार्थी भिसामा गएका केही विद्यार्थी कलेजमा नवीकरण नगरी भिसाविपरीत काम गरेको पाइएपछि फर्काइएका पनि छन् । केही व्यक्ति भने भिजिट भिसामा गएर काम गर्न थालेपछि पक्राउ परेर डिपोर्ट भएको पाइएको खड्का बताउँछन् ।  

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ गर्दै अवैध आप्रवासीलाई घर फर्काउन थाल्यो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले २० जनवरी २०२५ बाट दोस्रो कार्यकाल सुरु गरेका थिए । त्यसलगत्तै नेपालसहित विभिन्न देशबाट गैरकानुनी रूपमा अमेरिका पुगेका आप्रवासीलाई निष्कासन गर्ने नीति लिए । त्यहाँको अध्यागमन र भन्सारको संयुक्त संयन्त्रले कागजातविहीन आप्रवासीलाई धरपकड सुरु गरेको थियो । उनीहरूलाई चार्टर विमानबाट नेपाल फर्काइयो । 

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले अवैध रूपमा अमेरिका जानेहरू किन जान्छन् भन्नेबारे मन्त्रालयलाई जानकारी नभएको बताए । ‘उनीहरू व्यक्तिगत रूपमा अवैध तरिकाले जान्छन् । त्यसमा मन्त्रालयको स्वीकृति हुँदैन,’ उनले भने, ‘हामीले त वैधानिक रूपमा जानुपर्छ भन्छौं ।’ अध्यागमनको मापदण्ड पालना गरेर अमेरिका वा कुनै देश गएमा डिपोर्ट भएर आउनु नपर्ने पौडेल बताउँछन् । अवैधानिक रूपमा अमेरिका वा अन्य देश जानेहरू जुनसुकैबेला समस्यामा पर्न सक्ने भएकाले वैधानिक बाटोबाट मात्र विदेश जानुपर्ने उनको सुझाव छ । 

सम्बन्धित खबर