
नवलपरासी : भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएको ठुलो परिमाणको केरासहित एक ट्याक्टर र तीनवटा ट्रलीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका केरालाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
स्थानीय स्रोतहरूका अनुसार पश्चिम नवलपरासीका सुस्ता, प्रतापपुर, सरावल लगायतका सीमावर्ती क्षेत्र भएर पछिल्लो समयमा भाडाका सवारी साधन प्रयोग गरी भारतीय केरा भित्र्याउने क्रम बढ्दै गएको छ । सीमा क्षेत्रमा निगरानी कडा हुँदा तस्करहरूले वैकल्पिक भित्री बाटो प्रयोग गर्ने गरेको सुरक्षाकर्मीहरूको भनाइ छ ।
स्थानीय किसानहरूले भारतीय केरा सस्तोमा बजारमा प्रवेश गर्दा घरेलु उत्पादन प्रतिस्पर्धा गर्न नसकेको गुनासो गरेका छन् । उनीहरूले उचित मूल्य नपाउँदा खेतमै केरा नोक्सानी हुने र घाटा बेहोर्नु परेको बताएका छन् ।
यता व्यापारीहरूले भन्सार क्षेत्रमा परीक्षण सुविधा नहुँदा फलफूल परीक्षणका लागि क्वारेन्टाइन पठाउनुपर्ने, महँगो शुल्क तिर्नुपर्ने र ढिलाइ हुँदा केरा बिग्रिने जोखिम बढ्ने बताएका छन् । परीक्षण केन्द्रको अभावले दैनिक रूपमा भित्रिने फलफूल समयमै परीक्षण हुन नसक्दा बजार वितरणमा समेत असर परिरहेको छ ।
सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा चेकजाँच कडा गरे पनि भौगोलिक संरचना र वैकल्पिक मार्गका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको अधिकारीहरूको भनाइ छ ।
उपभोक्ता क्षेत्रबाट भने परीक्षणविना भारतीय फलफूल बजारमा प्रवेश गर्दा स्वास्थ्य जोखिम बढ्ने चिन्ता व्यक्त गरिएको छ । विशेषज्ञले विषादीयुक्त फलफूलको सेवनले दीर्घकालीन स्वास्थ्य समस्या पैदा गर्न सक्ने चेतावनी दिएका छन् । स्थानीयवासीले सम्बन्धित निकायले परीक्षण सुविधा विस्तार र भन्सार प्रक्रियामा सुधार नगरे भारतीय केरा तस्करी अझै बढ्ने आशंका व्यक्त गरेका छन् ।