२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानबिन गरेर कारबाही गर्नुपर्छ : मन्त्री घिसिङ

shivam cement
२०८२ मंसिर २३ गते १३:२५
Shares
निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानबिन गरेर कारबाही गर्नुपर्छ : मन्त्री घिसिङ

काठमाडौं : भौतिक पूर्वाधार, शहरी विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले रुग्ण ठेक्का तोड्ने आफ्नो इच्छा भन्दा पनि बाध्यता भएको बताएका छन् । मंगलबार पूर्वाधार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा उनले ठेक्का तोड्ने आफ्नो इच्छाको विषय भन्दा पनि बाध्यता भएको बताएका हुन् ।

उनले अब नबन्ने ठेक्का तोड्दै जाने समेत चेतावनी दिए । घिसिङकाअनुसार रिजल्टबेसमा जानकै लागि ठेक्का तोड्नुपरेको हो । घिसिङले रिजल्ट दिन नसक्ने प्रोजेक्ट म्यानेजरलाई पनि कारबाही गरिनुपर्ने बताए । बजेट खर्च गराउने काममा अर्थ मन्त्रालय, विभागीय मन्त्रालयबाट समेत धेरै समस्या रहेकाले त्यसको समाधान खोजिनुपर्ने उनको भनाइ छ । 

मन्त्री घिसिङले भने, ‘एउटा प्रोजेक्ट म्यानेजर आउँछ । त्यसले निर्णय नै नगरेर स्केप हुने, अर्को प्रोजेक्ट म्यानेजर आउँछ उसले पनि निर्णय नगर्ने उसले पनि स्केप गर्ने त्यस्तालाई पनि कारबाही गर्नुपर्छ । जसले निर्णय गर्दैन, कामै गर्दैन त्यस्तालाई कारबाही गर्नुपर्छ । छानबिन गरेर कारबाही गर्नुपर्छ । नत्र भने त कसरी प्रोजेक्ट बन्छ । प्रोजेक्ट बन्दै बन्दैन । निर्माण व्यवसायीको तर्फबाट हेर्दा करिब २०० ठेक्का रुग्ण रहेको पाइयो । हाम्रो तर्फबाट हामीले बजेट दिन नसकेको यी सबै कारणले पनि धेरै प्रोजेक्टहरू रुग्ण छन् । त्यसलाई हामीले दण्डित गरेका छैनौं । त्यो पनि छानबिनको दायरामा आउनुपर्छ । त्यो पार्ट अझै बाँकी छ । रुग्ण आयोजनाहरू ठेकदारका कारणले मात्रै अलपत्र परेको होइन अरु पनि कारण छन् त्यसलाई पनि हामीले छानबिनको दायरामा ल्याउनुपर्छ ।’

मन्त्री घिसिङले निर्माण व्यवसायीहरूमा पनि धेरै समस्या रहेको बताए । उनकाअनुसार निर्माण व्यावसायीले धेरै कन्ट्याक्टहरू ज्वाइन्ट भेन्चरमा दिन्छन् । त्यसरी दिनु राम्रो भएपनि परिणाममुखी काम भने हुन सकेको छैन । घिसिङले नेपालमा अहिले लगानी सम्मेलन भन्दा पनि कन्ट्याक्टर समिट गर्न जरुरी रहेको बताए । कन्ट्याक्टरको क्षमता वृद्धि नगरेसम्म आयोजनाहरूको प्रगति कमजोर भइरहने उनको भनाइ छ ।

मन्त्री घिसिङले रुग्ण ठेक्का तोड्दा प्रतिशोध साँधिएको भाष्य बनाउन नहुने उल्लेख गरे ।

सम्बन्धित खबर