२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

पण्डितपुरमा प्राचीन संरचना फेला

shivam cement
विनोद निगम
२०८२ मंसिर २३ गते २१:४०
Shares
पण्डितपुरमा प्राचीन संरचना फेला

नवलपरासी : पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित पण्डितपुर क्षेत्रमा भइरहेको उत्खननमा महत्वपूर्ण प्राचीन संरचना फेला परेको छ । बुद्धको मावलीका रूपमा चिनिने पण्डितपुरमा भेटिएका यी अवशेषलाई पछिल्ला वर्षको महत्वपूर्ण पुरातात्विक उपलब्धि मानिएको छ ।

उत्खनन टोलीका अनुसार सतहदेखि केही फिट तल देखापरेका संरचनाहरू इँटा, माटो र ढुंगाको मिश्रणमा बनेका छन्, जसले यहाँ प्राचीन सभ्यता तथा बसोबास रहेको संकेत गर्छ । प्रारम्भिक परीक्षणहरूले संरचना बुद्धकालीन वा त्यसअघि पनि हुन सक्ने सम्भावना खुलाएका छन् । 

पूर्वमन्त्री देवेन्द्रराज कँडेलले स्थल अवलोकनपछि पण्डितपुरलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक गन्तव्यका रूपमा विकास गर्न व्यवस्थित अनुसन्धान, संरक्षण र पूर्वाधार विस्तार आवश्यक रहेको बताए । उनका अनुसार यस्ता स्थलको संरक्षणले नेपाललाई ‘जन्मभूमि–ज्ञानभूमि’ दुवैका रूपमा बलियो ढंगले प्रस्तुत गर्न मद्दत गर्नेछ ।

अवलोकनमा सहभागी स्थानीयवासीले उत्खननलाई थप गति दिन, स्थलमा सुरक्षा व्यवस्थालाई कडा बनाउन र दीर्घकालीन अनुसन्धान सुनिश्चित गर्न सरकारसँग आग्रह गरेका छन् । हालसम्म भेटिएका अवशेषहरूले बुद्धका नातागोता वा पूर्वजहरूको बसोबासको प्रमाण बन्न सक्ने आधार पक्का गरेको छ ।

उत्खनन टोलीले थप परीक्षण र अभिलेख तयार हुँदै जाँदा संरचनाको वास्तविक उमेर, स्वरूप र ऐतिहासिक पृष्ठभूमि अझ प्रस्ट हुने जनाएको छ । टोलीका अनुसार अहिले भेटिएका संरचनाहरू भित्री तहमा रहेका सम्भावित अवशेषहरूको पहिलो संकेत मात्र हुनसक्छन् । 

यसबीच, रामग्राम–पण्डितपुर क्षेत्रलाई विश्व सम्पदा सूचीमा दर्ता गर्ने तयारी अघि बढाउन पुरातात्विक नक्सांकन, विस्तृत अध्ययन र अनुसन्धानको दायरा विस्तार गर्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

स्थानीयवासीले यी अवशेषहरूले पुस्तौँदेखि सुन्थ्यौँ भनी आएको इतिहासलाई प्रमाणसहित विश्व सामु पेस गर्ने अवसर मिलेको छ भन्दै उत्साह व्यक्त गरेका छन् । 

सम्बन्धित खबर