
काठमाडौँ : जेनजी आन्दोलनका क्रममा अराजक समूहको आगलागीमा परेर गम्भीर घाइते प्राध्यापक रविलक्ष्मी चित्रकार अझै अस्पतालमै छिन् । भारतको अपोलो अस्पतालको आइसियुबाट जनरल वार्डमा सारिए पनि डिस्चार्ज कहिले हुने टुंगो छैन । यता उनका श्रीमान् पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने यहीबेला राजनीतिक दौडधुपमा छन् ।
माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरू मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभामा कुँदिरहेका छन् । उनी आफैं ७६ वर्षका छन् । मिर्गौला प्रत्यारोपण गरिएकाले खनाललाई पनि नियमित हेरचाह चाहिन्छ । कहिले अस्पताल त कहिले बैठक भेलामा धाइरहेका खनालले मध्यान्हसँग भने, ‘अहिले त धेरै सुधार भइसकेको छ । अहिले उनी हाँस्न, बोल्न मात्र होइन, परिआए लेक्चर दिन सक्ने अवस्थामा पुगिसकिन् ।’
जलेर पिठ्युँ, घुँडा र कुर्कुच्चामा लागेका ठुला घाउ निको भएर सबै रिपोर्ट राम्रो हुँदा एक/डेढ साताभित्र उनलाई डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेको छ । ‘घाउ निको हुनेक्रम जारी छ । जलेको घाउ निको हुन समय लाग्ने रहेछ, एक डेढ हप्ताभित्र घाउ ठिक हुन्छ, त्यसपछि नेपाल ल्याउन सकिन्छ । यहाँ ल्याएपछि पनि डाक्टरकै निगरानीमा उपचार गर्नुपर्ने हुन्छ,’ उनले भने ।
भदौ २३ को जेनजी आन्दोलनमा १९ युवाको ज्यान गएपछि भड्किएको हिंसाका क्रममा भदौ २४ गते रविलक्ष्मी घरबाट निस्कन नपाउँदै बाहिरबाट आगो लगाइएको थियो । डल्लुस्थित घरमा धुँवाले भरिएको बार्दलीबाट छोरा निर्भीकले सडकबाट आगो झोसिरहेको समूहलाई भनिरहेका थिए, ‘ममी घरभित्र हुनुहुन्छ, प्लिज ।’ सडकको भिडले निर्भीकलाई बार्दलीबाट छिटो तल झर्न भनिरहेका थिए । बार्दलीबाट मागेको गुहार काम लागेन । रविलक्ष्मी आगोमा परिन् ।
त्यो दिन भिड पुरै अनियन्त्रित भएर देशका धेरैजसो प्रशासनिक संरचना ध्वस्त बनाउन हिँडेको थियो । नेतादेखि मन्त्री, प्रधानमन्त्रीलगायत व्यापारिक घरानाका घरसम्म आगो झोस्दै हिडेको थियो । त्यसको मारमा पूर्वप्रधानमन्त्री खनालपत्नी रविलक्ष्मी परेकी थिइन् । प्रदर्शनकारीले खनालपुत्र निर्भीक र श्रीमतीलाई घरभित्र थुनेर आगो लगाइदिएका थिए ।
झण्डै चार दशक लामो अध्यापनबाट विश्राम लिएकी उनी पूर्वप्रधानमन्त्री खनालको राजनीतिसँग प्रत्यक्ष जोडिएकी पनि थिइनन् । अमृत साइन्स क्याम्पसमा उनी रसायनशास्त्र विषय पढाउँथिन् । उनलाई चिन्ने, बुझ्नेहरू उनको जीवनशैली अति सामान्य रहेको भन्दै झलनाथको राजनीतिक प्रभाव उनमा नदेखिएको टिप्पणी गर्छन् । तर सबैभन्दा ठुलो क्षति उनैले बेहोर्नुपर्यो । आफ्नै सुरमा घरभित्र बसेकी रविलक्ष्मी एक्कासि आगोमा लप्कामा परिन् । दिनमा कतिपटक ओहोरदोहोर गरेको आफ्नै घरबाट बाहिर निस्किने बाटो उनले पत्ता लगाउन सकिनन् । छोरा निर्भीक र केही छिमेकीले जसोतसो उनलाई घर बाहिर निकाले । त्यतिबेलासम्म आगोले शरीरको धेरै भाग जलाइसकेको थियो । कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएपछि डाक्टरले उनको फोक्सोलगायत अंगमा क्षति पुगेको बताए । बायाँ हात काम नलाग्नेगरी जलेकाले काटेर फाल्नुपर्ने भने । धेरै विज्ञान विद्यार्थीकी प्रिय गुरुआमाको त्यो हात काटियो ।
नेपालमा थप उपचार सम्भव नभएपछि उनलाई दिल्लीस्थित अपोलो अस्पतालमा लगियो । अहिले उनको त्यहीँ उपचार भइरहेको छ । आफ्नी श्रीमतीको यो अवस्थापछि खनालले २४ भदौको सो घटना अमानवीय र आपराधिक भएको बताउँदै भत्र्सना गरेका छन् । तर युवा आन्दोलनमा अनियन्त्रित दमन गर्ने सरकार मात्र नभई त्यसक्रमका सबैजसो घटना नियोजित षड्यन्त्र भएको उनको टिप्पणी छ । आन्दोलनमा देशीविदेशी षड्यन्त्र र प्रतिक्रियावादीको चलखेल भएको पनि खनालको ठोकुवा छ । राजनीतिक परिवारसँग जोडिएकै आधारमा कोही कसैलाई जिउँदै जलाउनेसम्मको स्थिति सिर्जना हुनु विडम्बना भएको उनी बताउँछन् ।
अहिले चित्रकारको अवस्था केही सुधार भएको छ । उनको तीन चरणमा अप्रेसन गरिएको खनालले बताए । उनका अनुसार, पहिलो चरणमा आइसियुमा राखेर उपचार गरिएको थियो । दोस्रो चरणमा केही ठुला अप्रेसन भए । तेस्रो चरणमा घरपरिवारकै साथमा डाक्टर नर्सहरूसहितको निगरानीमा उपचार भइरहेको छ ।