
रौतहट : रौतहटको ईशनाथ नगरपालिकास्थित लतमरी खुला नाकाबाट नियमविपरीत चारपांग्रे सवारी साधनको आवागमन बढेको खुलेको छ । विगत लामो समयदेखि दार्ताबिनै उक्त नाकाबाट नियमविपरीत सवारी आवागमन बढेको खुलेको हो ।
सशस्त्र प्रहरी सहायक निरीक्षक दिलिप हायुको मिलेमतोमा ‘मदिरा ओसारपसार’ गर्ने सवारीलाई बिना दर्ता र बिना भन्सार जाँच प्रवेश गराएको स्थानीयको आरोप छ ।
सवारीमार्फत के सामान ल्याइन्छ भन्ने निरीक्षणसमेत नगरी गरिने सहज प्रवेशले सीमा सुरक्षामा गम्भीर प्रश्न उठाएको छ । गौर मुख्य भन्सार नाकामार्फत मात्र चारपांग्रे गाडी ओहोरदोहोर गर्ने व्यवस्था रहे पनि लतमरीमा आर्थिक मिलेमतोमा प्रतिबन्धित सवारी निर्वाध आउजाउ गरिरहेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।
यसले तस्करी, अवैध सामान भित्रिने, वैध व्यापार प्रभावित हुने र राज्यको राजस्व नै चुहावट हुने जोखिम बढाएको छ । सीमा नियन्त्रण कमजोर हुँदा आपराधिक समूह सशक्त बन्न सक्ने खतरा रहेको सुरक्षा स्रोत बताउँछ ।
घटनाको यथाशीघ्र छानबिन गरी संलग्नमाथि कारबाही गर्नुपर्ने माग बढेको छ ।