
मोरङ : मलेसियामा व्यवसाय गर्दै आएका राज लामाले मोरङको बेलबारी नगरपालिका–६ का कैला खवासको परिवारलाई खाद्यान्न, जाडोको लुगा तथा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । परिवारका सबै सदस्य अपाङ्ग भएको र कठिन परिस्थितिमा परेको थाहा पाएपछि लामा स्वयं घरमै पुगेर सहायता उपलब्ध गराएका हुन् ।
सहयोग वितरणका क्रममा निवर्तमान वडाध्यक्ष उदय राई, समाजसेवी नीरबहादुर तामाङ, पुष्कर शर्मा र कविता गुरुङको सक्रिय उपस्थिति रहेको थियो । त्यस्तै प्रत्यक्ष आर्थिक सहयोग गर्ने स्थानीय युवा टंक खड्का र प्रकाश गिरी तथा नगद सहायता उपलब्ध गराउने राजु मगरप्रति लामाले आभार व्यक्त गरेका छन् ।

अपाङ्गता भएका परिवारले संघीय सरकारबाट सीमित भत्ता पाए पनि स्थानीय तहबाट आवश्यक ध्यान नपाएको गुनासो गर्दै आएका छन् । यो विषयमा समाजसेवी लामाले स्थानीय निकायलाई जिम्मेवारीपूर्वक पहल गर्न आग्रह गर्दै भने, “स्थानीय सरकारले कम्तीमा पनि घरमा बत्ती जडान गर्ने कदम चाल्ने विश्वास छ ।”
मानवीय सहयोगलाई निरन्तरता दिने संकेत गर्दै लामा भन्छन्, “सहयोग धनले होइन, मनले गरिन्छ। यस अभियानमा साथ दिने सबैलाई धन्यवाद ।”