२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक

shivam cement
२०८२ मंसिर २६ गते १३:३४
Shares
सशस्त्र प्रहरी प्रमुख अर्यालको तीन वर्षे उपलब्धिसँगै निर्वाचनलक्षित सुरक्षा रणनीति सार्वजनिक

काठमाडौं : सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले आफ्नो तीन वर्षे कार्यकालमा भएको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

अर्यालको तीन वर्षे कार्यकालमा सशस्त्रको प्रत्येक युनिटहरूमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरूलाई ६/६ महिनामा स्वास्थ्य परीक्षण गर्ने व्यवस्था सुरुवात गरिएको छ ।

पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी नायव महानिरीक्षक तथा प्रवक्ता मनिष थापाले कल्याणकारी सेवा केन्द्रबाट १० लाख रुपैयाँसम्मको सीमा आवास कर्जाको व्यवस्था गरिएको उल्लेख गर्दै हालसम्म ७६ जना सशस्त्र प्रहरी कर्मचारीहरू लाभान्वित भएको जानकारी गराए ।

उनकाअनुसार सबै सबै इकाइको आदर्श वाक्य निर्माण गरिएको छ । उनले विष्फोटक पदार्थको भण्डाण सम्बन्धमा अध्ययन गरी ३ स्थानमा बंकर निर्माण गरिएको जानकारी दिए ।

उनकाअनुसार रेलवे, टनेल तथा बोटहरूको सुरक्षार्थ कस्तो तयारी गर्ने भन्ने सम्बन्धमा अध्ययन गरिएको तथा युनिट कमाण्डहरूलाई एक्शन प्लान बनाएर कार्यान्वयनमा ल्याउने व्यवस्था समेत सुरुवात गरिएको छ ।

विपद् व्यवस्थापन, आकस्मिक उद्धार क्षमता, सडक सुरक्षा तथा स्वास्थ्य सेवा सुदृढीकरणका लागि ठोस कदम अघि बढाएको समेत थापाले बताए । उनले राष्ट्रिय सडक सुरक्षा परिषद्सँग समन्वय गरी पोस्ट–क्र्यास रेस्पोन्स एन्ड केयर सेवा सुरु गर्न एमओयु भएको तथा दुर्घटनापश्चात तुरुन्त उपचारका लागि सम्बन्धित निकायका कर्मचारीलाई मेडिकल फर्स्ट रेस्पोन्स तालिम दिइएको पनि बताए ।

प्रगति विवरणमा प्राकृतिक विपद् तथा सवारी दुर्घटनामा परेका घटनाहरू उल्लेख गरिएको छ । गत आर्थिक वर्षमा ३७ वटा स्थानीय तहमा विपद् स्वयंसेवक तालिम सञ्चालन भई समुदायस्तरमा विपद्को समयमा परिचालन हुनसक्ने दक्ष जनशक्तिको रूपमा ९ सय ९० जना विपद् स्ययंसेवक तयार गरिएको पनि उनले बताए । सीमा सुरक्षा, निर्माण कार्य र स्वास्थ्य शिविर जस्ता महत्वपूर्ण कार्यहरू अर्यालको तीन वर्षे कार्यकालमा सम्पन्न गरिएको उनको भनाइ छ । 

फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी सशस्त्र प्रहरीले आफ्नो सुरक्षा रणनीति समेत सार्वजनि गरेको छ । निर्वाचनलाई सुरक्षित, व्यवस्थित र अवाञ्छित गतिविधिबाट मुक्त राख्न सशस्त्र प्रहरी बल नेपालले जोखिम मूल्यांकन, द्रुत प्रतिक्रिया टोली सञ्चालन, सीमा निगरानी, सञ्चार समन्वय र आवश्यक संसाधन परिचालन गर्ने योजना बनाएको छ ।

निर्वाचनको समयमा संवेदनशील क्षेत्र, असामान्य गतिविधि र सम्भावित जोखिम पहिचानका लागि विशेष टोली परिचालन गरिने प्रवक्ता थापाले जानकारी दिए । उनले अवैध आवतजावत, तस्करी वा अपराध वृद्धि हुन नदिन सीमा क्षेत्रमा विशेष गस्ती, चेकपोस्ट चौकसी, गस्ती निगरानी बढाइने समेत बताए ।

उनले सीमा क्षेत्रबाट निर्वाचनमा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाइने समेत जानकारी दिए । उनले निर्वाचनलाई भयरहित बनाउन जिल्ला सुरक्षा परिषद्हरूसँग आवश्यक समन्वय गरिने समेत जानकारी दिए ।

सम्बन्धित खबर