
काठमाडौं : नयाँ मन्त्री बनेका चार जनाले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई शुक्रबार मन्त्री नियुक्त गरिएको थियो ।
नियुक्त मन्त्रीहरूमा श्रद्धा श्रेष्ठ, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम छन् ।
राष्ट्रपति कार्यालयका अनुसार श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन तथा वातावरण, भण्डारीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र इङ्नामलाई भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय को
जिम्मेवारी दिइएको छ ।
नवनियुक्त मन्त्रीहरू
कुमार इङ्नाम
भूमि व्यवस्था मन्त्रालय पाएका इङ्नाम फौजदारी कानूनका विज्ञ तथा काठमाडौं स्कूल अफ लका वरिष्ठ प्राध्यापक हुन् । २५ वर्षदेखि अध्यापनरत उनीका कैयौं अनुसन्धानमूलक पुस्तक प्रकाशित छन् ।
राजेन्द्रसिंह भण्डारी
श्रम मन्त्रालय पाएका भण्डारी पूर्व एआईजी तथा सीआईबीका संस्थापक प्रमुख हुन् । अनुसन्धान क्षेत्रमा दक्ष प्रहरी अधिकारीका रूपमा उनी परिचित छन् ।
माधव चौलागाईं
वन मन्त्रालय पाएका चौलागाईं कर्णालीसम्बन्धी अनुसन्धानमा सक्रिय लेखक हुन् । इतिहास, संस्कृतिदेखि विकाससम्मका विषयमा लेखन गर्दै आएकी छन् ।
श्रद्धा श्रेष्ठ
महिला तथा बालबालिका मन्त्री बनेकी श्रेष्ठ २४ वर्षदेखि नेपाल पर्यटन बोर्डमा कार्यरत वरिष्ठ प्रबन्धक हुन् । अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी उनी फुलब्राइट फेलोसमेत हुन् ।