२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

एमाले महाधिवेशन : पदका आकांक्षीको शीर्ष नेताहरूसँग लविङ, प्रतिनिधिको दौडधूप

shivam cement
२०८२ मंसिर २६ गते १७:५७
Shares
एमाले महाधिवेशन : पदका आकांक्षीको शीर्ष नेताहरूसँग लविङ, प्रतिनिधिको दौडधूप

काठमाडौं : नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिका कारण काठमाडौं उपत्यकामा रौनक थपिएको छ । शनिबारदेखि काठमाडौंमा सुरु हुने तीनदिने महाधिवेशनमा सहभागी हुन आउने पार्टी प्रतिनिधिसहित नेता तथा कार्यकर्ताबीचको भेटघाट, छलफल, चुनावी बहस र प्रचारप्रसारले तीव्रता पाउँदा चहलपहल बढेको हो ।

विशेषगरी च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय, भक्तपुरको सल्लाघारीस्थित महाधिवेशन उद्घाटनस्थलसहित प्रभावशाली एवं शीर्ष नेताहरूको निवासमा चलहपहल बढेको देखिन्छ । यसैगरी, पार्टी पदाधिकारी एवं केन्द्रीय सदस्य पदमा आकांक्षी नेताहरूको ‘लविङ’ र उनीहरूका पक्षमा राजनीतिक माहोल सिर्जना गर्न उत्सुक शुभेच्छुक तथा कार्यकर्ताको दौडधूपले पनि राजनीतिक चहलपहल बढेको देखिन्छ । 

मुलुकमा विकसित विषम राजनीतिक परिवेशकाबीच आगामी पाँच वर्षका नेतृत्व चयन गर्ने सन्दर्भमा हुन गइरहेको राष्ट्रिय महाधिवेशनका अवसरमा चहलपहल हुनुलाई स्वाभाविक रुपमा लिइनुपर्ने राजनीतिक विश्लेषकको भनाइ छ ।  

राष्ट्रिय महाधिवेशनलाई एउटा उत्सवमात्र नभई पार्टी र देशको भविष्यका लागि नयाँ चुनौतीका विषयमा विमर्श गर्ने अवसरका रूपमा पनि प्रतिनिधिले लिएका छन् । प्रतिनिधिहरू आफ्नो परिचयपत्र लिन र नेतृत्व चयनमा निर्वाचन भएमा कसरी प्रस्तुत हुने भन्ने विषयमा चासोपूर्वक लागिरहेका देखिन्छन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको निरन्तरता र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वमा पुस्तान्तरण भन्ने अन्तरपार्टी बहस चलिरहेको छ । राष्ट्रिय राजनीतिमा संकटका समयमा यसलाई सामना गर्नसक्ने नेतृत्व ओली नै हो भन्ने संस्थापन पक्षको धारणा र नेतृत्वमा पुस्तान्तरण, हस्तान्तरणसहित  रुपान्तरण हुनुपर्ने आवज वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षबाट आइरहेको छ ।

 एमालेको संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १ सय ५४ प्रतिनिधि रहनेछन् । सो संख्याको पाँच प्रतिशतसम्म प्रतिनिधि मनोनीत गर्न सकिने व्यवस्था रहेको छ । पार्टीको केन्द्रीय सल्लाहकार परिषद्का ३ सय ९ सदस्यले पनि महाधिवेशनमा सहभागी हुन पाउनेछन् ।

मनोनीत हुने प्रतिनिधि, विधानमा कुनै संशोधन गर्ने नगर्ने या महाधिवेशमा कुनै प्रस्तावमा छलफल गर्ने नगर्ने भन्नेबारेमा आज बस्ने पार्टीको सचिवालय बैठकले निर्णय गर्ने नेता अधिकारीले जानकारी दिए । 

यसअघि, वरिष्ठ उपाध्यक्ष पोखरेलले जेनजी आन्दोलनपछिको अवस्थालाई समीक्षा गर्नुपर्नेगरी आफ्नो अवधारणापत्र पार्टीका महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरिसकेका छन् । पार्टीका अन्य नेताहरुले गत भदौ २०–२२ मा काठमाडौंमा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक दस्तावेजमा छलफल भइसकेका सन्दर्भमा नीतिभन्दा नेतृत्वका विषयमा राष्ट्रिय महाधिवेशन केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरिहेका छन् । 

एमालेका उपमहासचिव एवं जनपरिचालन समितिका संयोजक प्रदीपकुमार ज्ञवालीले आफूहरू महाधिवेशनको अन्तिम तयारीमा पुगेको जानकारी दिँदै भक्तपुरको तीनकुनेस्थित सल्लाघारीको खुला मैदानमा मञ्च निर्माण तथा व्यवस्थापनलगायत काम अन्तिम चरणमा पुगेको बताए ।  

उनले महाधिवेशनको उद्घाटन सत्रमा विशेषगरी बागमती, मधेश र गण्डकी प्रदेशसहित देशभरबाट उल्लेखनीय संख्यामा जनसहभागिता हुनेगरी व्यापक प्रचारप्रसारसहित तयारी भइरहेको जानकारी दिए । 
नेता ज्ञवालीका अनुसार एमालेले महाधिवेशनमा शुभकामना दिन विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नेसहित १६ राष्ट्रिय दलका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । 

जेनजी आन्दोलनपछिको विशेष अवस्था भएकाले विदेशका नेता तथा पाहुनालाई यस महाधिवेशनमा निम्तो नदिइएको एमालेका बागमती प्रदेश इञ्चार्ज डा राजन भट्टराईले जानकारी दिए । उनका अनुसार भारत, चीन, क्युबालगायत मुलुकका पार्टीबाट शुभकामना सन्देश प्राप्त भएको छ । यस्तै नेपालस्थित कूटनीतिक मिसनलाई महाधिवेशनमा बोलाइएको छ ।

महाधिवेशन सफलतपूर्वक भव्य रुपमा सम्पन्न गर्न गठित स्वयंसेवक परिचालन, आवास, खाद्यान्न, यातायात, प्रचारप्रसार, सांस्कृतिक, आर्थिक, प्रतिनिधि व्यवस्थापनलगायत समितिहरू आआफ्ना जिम्मेवारी पूरा गर्न व्यस्त देखिन्छन् ।

एमालेका केन्द्रीय प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले महाधिवेशनमार्फत राष्ट्रिय एकता र निकासका निम्ति सम्पूर्ण नागरिकलाई अपिल गरिने बताए । उनले महाधिवेशनको प्रतीक चिन्ह (लोगो) मा काठमाडौं उपत्यकाका ऐतिहासिक एवं सांस्कृतिक सम्पदा धरहरादेखि, रञ्जना लिपी, न्यातपोल दरबार र शान्तिको प्रतीक पनि समावेश गरेर नेवाः संस्कृति र ऐतिहासिकतालाई महत्व दिन खोजिएको बताए । 

‘राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल र सुखी, नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारा रहेको महाधिवेशनको उद्घाटन अध्यक्ष ओलीले गर्नेछन् । महाधिवेशन उद्घाटनका अवसरमा सांस्कृतिक कार्यक्रमसहित स्थानीय झाँकी तथा भेषभूषामा सज्जित कलाकारले प्रदर्शन गर्ने कार्यक्रम छ । –रासस 

सम्बन्धित खबर