
रौतहट : रौतहटको मौलापुर नगरपालिका–३ स्थित लालबकैया बाँध क्षेत्रबाट स्रोत नखुलेको ११ लाख ४७ हजार रुपैयाँसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । नियमित चेकजाँचका क्रममा शंकास्पद रूपमा भेटिएको रकमसहित उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ पर्ने व्यक्ति बारा जिल्लाको सिमरौनगढ नगरपालिका–११ भवानीपुरका ३६ वर्षीय मुन्नाप्रसाद जैसवाल रहेका छन् । शुक्रबार बिहान करिब १०ः२० बजे हरनैयाबाट देवाहीतर्फ जाँदै गरेको म.प्र.–०३–०३३ प ३११० नं.को मोटरसाइकल रोकेर खोजतलासी गर्दा उक्त रकम फेला परेको प्रहरीले बताएको छ ।
मोटरसाइकलको लेगाडमा राखिएको झोलाबाट नगद बरामद भएपछि जैसवाललाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो । रकमको स्रोत खुल्न नसकेपछि उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।
प्रहरीका अनुसार बरामद रकम हुन्डी वा अन्य गैरकानूनी वित्तीय कारोबारसँग जोडिएको छ कि छैन भन्नेबारे अनुसन्धान भइरहेको छ । नेपाल–भारत सीमानजिक भएको रौतहट जिल्लमा अवैध वित्तीय गतिविधिका लागि जोखिमयुक्त क्षेत्र मानिँदै आएको छ, जहाँ प्रहरीले हाल चेकजाँच अझ कडाइ गरेको छ ।
जैसवालमाथि गैरकानूनी वित्तीय कारोबार तथा राजस्व छलीसम्बन्धी मुद्दा चलाइने सम्भावना रहेको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रियापछि उनलाई राजस्व अनुसन्धान विभाग वा सम्बन्धित निकायमा बुझाउने तयारी रहेको छ ।