२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कर बक्यौता चुलिँदै : ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन

shivam cement
२०८२ मंसिर २८ गते १३:१८
Shares
कर बक्यौता चुलिँदै : ९४ अर्ब ९५ करोड रुपैयाँ कर उठेन

काठमाडौं : पछिल्ला वर्षहरूमा उठ्न बाँकी कर बक्यौता चुलिन थालेको छ । आन्तरिक राजस्व विभागकाअनुसार प्रत्येक वर्षजसो बढिरहेको बक्यौता आर्थिक वर्ष २०८१/०८२ को अन्त्यसम्ममा ब्याज, थप दस्तुर र विलम्व शुल्कसहित उठ्न बाँकी त्यस्तो रकम ९४ अर्ब ९५ करोड पुगेको हो ।

पछिल्लो समय कर कार्यालयहरूले निर्धारण गरेको रकम करदाताले चित्त बुझाउन छाडेका छन् भने करदाताले चित्त नबुझाउँदा उठ्न बाँकी कर रकम पनि अर्बौं छ । विभागकाअनुसार कर कार्यालयबाट भएको कर निर्धारणप्रति करदाताले चित्त नबुझाई आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनमा रहेको तथा अन्य न्यायिक निकायमा अपिलमा रहेको विवादित रकम १ खर्ब ८० अर्ब १० करोड रहेको पुगेको छ ।

अघिल्लो बर्षमा बक्यौता संकलनतर्फ आयकरमा २२ अर्ब ७६ करोड लक्ष्य तोकिएकोमा ८ अर्ब ७१ करोड असुली भएको छ । यो प्रगति लक्ष्यको ३८.२९ प्रतिशत हो भने मू.अ.करतर्फ १६ अर्ब ३३ करोड लक्ष्य रहेकोमा रु. १० अर्ब ३३ करोड असुली गरिएको छ । जुन लक्ष्यको ६३.२८ प्रतिशत हो । बक्यौता समायोजनतर्फ आयकरमा २७ अर्ब ३८ करोड लक्ष्य रहेकोमा २१ अर्ब ३९ करोड उठेको छ । जुन प्रगति लक्ष्यको ७८.१ प्रतिशत हो भने मूल्य अभिवृद्धि करतर्फ भने रु. १८ अर्ब १७ करोड लक्ष्य रहेकोमा २२ अर्ब २९ करोड समायोजन भई १२२.६३ प्रतिशत प्रगति भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

कानुनी कारबाहीमार्फत असुल गर्ने लक्ष्य ४ अर्ब ३९ करोड तोकिएकोमा अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७९ करोड मात्र असुली भएको छ । जुन लक्ष्यको तुलनामा ४०.७७ प्रतिशत प्रगति हो । नेपालमा व्यवसाय, रोजगारी तथा लगानीबाट करयोग्य आय आर्जन गर्ने व्यक्तिले आयकर ऐन, २०५८ को दफा ९६ अनुसार स्वयं घोषणा गरी तोकिएको समयभित्र आय विवरण पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

विवरणअनुसारको कर समयमै दाखिला नभएमा, कर परीक्षण तथा अनुसन्धानबाट कर निर्धारण भएमा वा अन्य कुनै कारणले आन्तरिक राजस्व कार्यालयबाट निर्धारण भएका आयकर, मूल्य अभिवृद्धि कर (मू.अ.कर), अन्तःशुल्क तथा साविकका अन्य कर रकम तोकिएको समयभित्र बुझाउन नसक्दा ती रकम बक्यौता कायम हुने गर्दछ । यसरी कायम भएको बक्यौताको अभिलेख राख्ने, मासिक तथा वार्षिक कार्यालयगत बक्यौता संकलन लक्ष्य निर्धारण गर्ने, बक्यौता संकलन रणनीति तयार गर्ने, प्रगति अनुगमन गर्ने तथा कार्यालयहरूबाट उठेका बक्यौता सम्बन्धी जिज्ञासामा स्पष्टता दिने कार्य आन्तरिक राजस्व विभागको बक्यौता शाखाले गर्दै आएको छ ।

सम्बन्धित खबर