२०८२ फागुन २९ गते शुक्रवार / Mar 13 , 2026 , Friday
२०८२ फागुन २९ गते शुक्रवार
Ads

पाल्पाका दुई एमाले नेताले सक्रिय राजनीतिबाट लिए विश्राम

shivam cement
२०८२ मंसिर २८ गते १५:०२
Shares
पाल्पाका दुई एमाले नेताले सक्रिय राजनीतिबाट लिए विश्राम

पाल्पा : नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री दलबहादुर राना र लुम्बिनी प्रदेश कमिटी सदस्य एकप्रसाद भण्डारीले सक्रिय राजनीतिबाट विश्राम लिएका छन् ।

पूर्वमन्त्री रानाले पारिवारिक समस्याका कारण सक्रिय राजनीतिबाट विश्राम लिने निर्णय गरेको बताएका छन् । उनले हाज जारी एमालेको ११औं राष्ट्रिय महाधिवेशनदेखि पार्टीको सक्रिय राजनीतिक विश्राम लिने जानकारी दिएका हुन् ।

रानाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको प्रेस नोटमा लेखेका छन्, “हाल मेरो पारिवारिक समस्याको प्रमुख कारणले गर्दा पार्टीको जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्न सक्ने अवस्था छैन । त्यसैले १औं राष्ट्रिय महाधिवेशनदेखि सक्रिय राजनीतिबाट विश्राम लिने निर्णयमा पुगेको छु ।”

सक्रिय राजनीतिबाट अलग भए पनि पार्टी सदस्यको हैसियतमा देश, जनता र पार्टीको हितमा आफ्नो अनुभव प्रयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन् । साथै, महाधिवेशन सफल होस् भन्ने शुभकामनासमेत व्यक्त गरेका छन् ।

करिब ४५ वर्ष लामो राजनीतिक यात्रामा जिल्ला, अञ्चल, प्रदेश र केन्द्रीय तहमा विभिन्न जिम्मेवारी निर्वाह गरेका राना तीन पटक प्रत्यक्ष निर्वाचित जनप्रतिनिधि बनेका थिए । उनी भूमिसुधार तथा व्यवस्था मन्त्रीसमेत भएका थिए ।

एकप्रसाद भण्डारीले पनि छाडे एमाले

यस्तै, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एक प्रसाद भण्डारीले पनि पार्टीसँग सबै सम्बन्ध तोड्ने निर्णय गरेका छन् । २०२६ सालदेखि कम्युनिस्ट आन्दोलनमा संलग्न भण्डारीले पार्टीको केन्द्र र सदरमुकाममुखी निर्णय, योगदान र जनभावनाको अवमूल्यन तथा व्यक्ति र व्यवसाय केन्द्रित राजनीति बढ्दै गएको भन्दै पार्टी परित्याग गरेको बताएका छन् ।

उनले जारी गरेको वक्तव्यमा भनेका छन्, “पार्टी संगठन, त्याग, जनजिविकाका सवाल र भुगोलभन्दा व्यक्ति केन्द्रित निर्णयले देश, जनता र पार्टीको हित नदेखिएकोले आजैदेखि प्रदेश कमिटी सदस्य र पार्टीको साधारण सदस्यसमेत नरहने गरी अलग हुने निर्णय गरेको छु ।”

भण्डारीले पार्टी छाडे पनि सामाजिक जीवनमा निरन्तर सक्रिय रहने उल्लेख गरेका छन् ।

पाल्पा क्षेत्र नम्बर–१ बाट प्रतिनिधित्व गर्ने यी दुई वरिष्ठ नेताको पार्टी परित्यागलाई एमाले पाल्पा संगठनका लागि ठुलो राजनीतिक झट्काका रूपमा हेरिएको छ ।

सम्बन्धित खबर