२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

मन्त्रालयमै जेनजी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौं : श्रममन्त्री भण्डारी

shivam cement
२०८२ मंसिर २८ गते १६:२५
Shares
मन्त्रालयमै जेनजी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौं : श्रममन्त्री भण्डारी

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनका लागि मन्त्रालयमा नै जेनजी कक्ष राखेर काम गर्ने बताएका छन् ।

मन्त्रालयमा जेनजीका अगुवाहरूसँग आइतबार भएको छलफलमा उनले यस्तो बताएका हुन् । मन्त्रालयमा जेनजीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गर्ने उनको भनाइ छ ।

उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिको लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए । जेनजी सेल स्थापना गर्नको लागि आफूले निर्देशन दिएको जानकारी दिँदै उनले मन्त्रालयले चाँडै नै तयारी थाल्ने उल्लेख गरे ।

रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकाले यसका लागि आफूले सक्दो प्रयास गर्ने उनले प्रतिबद्धता पनि जनाए ।

उनले भने, ‘एउटा जेनजीको सेल नै यहीँ (मन्त्रालयमा) राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धीका सम्पूर्ण कुराहरू उहाँसँग छलफल गर्ने र उहाँहरूकै साथ र सहयोग लिएर हामीहरूले रोजगारका लागि प्राइभेट सेक्टरमा कसरी जान सकिन्छ, ट्रेनिङ सेन्टरसँग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरू के-के हुन सक्छन्, त्यसका लागि जेनजी सेलकै मैले यहाँ एउटा कुनै उपस्थिति, प्रतिनिधित्व रहने गरेर । आउनुस् न यहाँ लुकाउनुपर्ने के छ ? हाम्रो क्षमता यति छ, यो भित्र तपाईंहरूलाई कहाँ कहाँ राख्ने त्यो ढंगबाट काम गर्नुस् भनेर कुरा गर्दा उहाँ (सचिव)ले राम्रो छ, हामी तयारी गर्छौं भन्नुभएको छ । मुख्य मुद्दा भनेको सामाजिक सुरक्षा र रोजगार यी दुई वटा कुराको ग्यारेन्टीलाई कसरी सुरक्षित गर्ने भन्ने मुख्य कुरा यो हो । यसमा तपाईंहरूकै प्रत्यक्ष संलग्नतामा, अझ म त के भन्छु भने हाम्रो निर्देशनमा होइन, तपाईंहरूकै निर्देशनमा यसलाई अगाडि बढ्छौं । त्यसका लागि चाहीँ म यहाँ भूमिका खेल्न प्रतिबद्ध छु ।’

उनले प्रधानमन्त्री सुशीला कार्कीले जेनजीको भावनाअनुरुप काम गर्न निर्देशन दिएकाले सोहीअनुसार आफूले काम गर्ने पनि जानकारी दिए । आफ्नो पहिलो प्राथमिकतामा नै जेनजी हुने उनको भनाइ छ ।

सम्बन्धित खबर