
काठमाडौं : विभिन्न माग राखेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार पुगेका जेनजी आन्दोलनमा घाइते युवाहरू प्रवेश पास नपाएपछि गेटमै धर्नामा बसेका छन् । आइतबार बिहान ९ बजेदेखि उनीहरू सिंहदरबारको पश्चिम गेटमा धर्ना बसेका छन् ।
उनीहरूले रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड प्रक्रिया तत्काल रोक्न तथा नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचारको निष्पक्ष छानबिनको माग गरेका छन् ।
प्रदर्शनकारीहरूले जारी गरेको लिखित निवेदनमा पूँजी बजार क्षेत्र देशको आर्थिक विकासको मेरुदण्ड भए पनि यसको विकास, विस्तार र सुधारमा सरकारको पर्याप्त ध्यान नपुगेको आरोप लगाएका छन् । सोही कारण समय–समयमा धितोपत्र बजारमा अनियमितता र भ्रष्टाचारका घटना सार्वजनिक हुँदै आएको उल्लेख गरिएको छ ।
निवेदनमा हाल चर्चामा रहेको रिलायन्स स्पीनिङ मिल्सको आइपिओलाई अनियमितताको उदाहरण भन्दै यस प्रकरणमा धितोपत्र बोर्ड, अर्थ मन्त्रालयका कर्मचारी, कम्पनी, नेप्से, क्रेडिट रेटिङ एजेन्सी, लेखापरीक्षक, कम्पनी रजिस्ट्रार कार्यालय, योग्य संस्थागत लगानीकर्ता तथा बोर्डका सञ्चालकहरूबीच मिलेमतो भएको गम्भीर आरोप लगाइएको छ ।
त्यस्तै, धितोपत्र बोर्डका पूर्व अध्यक्षहरू भीष्मराज ढुंगाना र रमेशकुमार हमाल, कार्यवाहक अध्यक्षहरू नरेन्द्रराज र महेश बरालको कार्यकाल पनि विवादास्पद रहेको उल्लेख गर्दै हालका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसमेत विवादमा रहेको दाबी गरिएको छ ।
७३ लाखभन्दा बढी लगानीकर्ताको हित, भ्रष्टाचारविरुद्धको आन्दोलनमा ज्यान गुमाएका ७८ जना जेनजी युवाहरूको सम्झना र घाइते युवाहरूको न्यायका लागि आफूहरू सडकमा उत्रिन बाध्य भएको घाइतेहरूको भनाइ छ । उनीहरूले समयमै कदम नचालिए नेपालको आर्थिक क्षेत्र खैरो सूचीबाट कालो सूचीमा पर्न सक्ने चेतावनीसमेत दिएका छन् ।
घाइतेका मागहरू :
१. रिलायन्स स्पीनिंगन् मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि निष्काशित आईपी बांडफाड प्रक्रियालाई तत्काल रोक्नुपर्ने ।
२. निष्पक्ष छानबिन आयोग गठनमा गरि तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने ।
३. बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने ।
४. भ्रष्टाचारमा संलग्न दोषिहरुलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने ।
धर्नास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको छ भने सरकारतर्फबाट औपचारिक प्रतिक्रिया भने आइसकेको छैन ।