
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सबैलाई समेटेर अघि बढ्न जरुरी रहेको बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेसलाई फेरि एक पटक इतिहासले महत्वपूर्ण जिम्मेवारी सुम्पिएको बताउँदै देशलाई द्वन्द्वबाट बाहिर निकाल्नुपर्ने आवश्यकता रहेको बताए ।
विगतमाझैं अहिले पनि त्यसको जिम्मेवारी कांग्रेसमाथि रहेको उनले बताए । देशलाई सम्हाल्ने जिम्मेवारी कांग्रेसमाथि आएको उल्लेख गर्दै महामन्त्री थापाले छाती फराकिलो बनाएर, शिर उच्च बनाएर गर्वका साथ भएका कमजोरी स्वीकार गर्दै समुदायबीचमा जानुपर्ने बताए । ठिक ढंगले काम गर्नसके निर्वाचन आफैं जितिने उनको विश्वास छ ।
महामन्त्री थापाका अनुसार राम्रो काम गर्नसके मतदाताहरु आफैं पछ्याउँदै आउने र मत माग्न जानुपर्ने अवस्था नरहने बताए । नेपाली कांग्रेसलाई मतले पछ्याउन सक्ने बनाउनुपर्ने बताए ।
महामन्त्री थापाले नेकपा एमालेप्रति लक्षित गर्दै भिडलाई उकास्ने, उचाल्ने चरित्र नेपाली कांग्रेसको नभएको पनि बताए । उनले भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान हुने र कारबाही हुने बताए । नागरिकमा आक्रोश र असन्तुष्टि रहेको भन्दै त्यसलाई शान्त पार्ने जिम्मेवारी कांग्रेसको भएको उनले बताए ।