
काठमाडौं : नेकपा (एमाले)को ११औं महाधिवेशनमा नेतृत्व चयनका क्रममा शीर्ष नेताहरूबीच असन्तुष्टि चुलिएको छ ।
सचिव पदका दावेदार कृष्णगोपाल श्रेष्ठले अध्यक्ष केपी शर्मा ओलीको प्यानल नै छाडेको घोषणा गर्दै ओलीको व्यवहारबाट आफू पीडित भएको बताएका छन् । भृकुटीमण्डपमा जारी बन्दसत्रमा सचिव पदका लागि उम्मेदवारी दर्ता गराउँदै उनले उपाध्यक्षको प्रस्ताव अस्वीकार गरेको जानकारी दिए ।
त्यस्तै महासचिव पदका आकांक्षी प्रदीप ज्ञवालीले उपाध्यक्ष बन्न अनिच्छा देखाएका छन् । ओली समूहले उपाध्यक्षमा नाम अघि सारेपछि उनी असन्तुष्ट बनेको स्रोतको दाबी छ । त्यसैगरी उपमहासचिव पदमा राजेन्द्र गौतमले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले सार्वजनिक पदाधिकारी सूचीप्रति असन्तुष्टि जनाएका छन् । यसैबीच ओली समूहबाट प्रस्तावित नामहरूमा फेरबदल भएको छ । लेखराज भट्टलाई उपमहासचिव र भानुभक्त ढकाललाई सचिव बनाउने तयारी छ ।