२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

देवेन्द्र गौतम पत्रकारिता पुरस्कारका लागि किशोर, हरिबहादुर र झाङ छनयी चयन

shivam cement
२०८२ मंसिर २९ गते १६:१५
Shares
देवेन्द्र गौतम पत्रकारिता पुरस्कारका लागि किशोर, हरिबहादुर र झाङ छनयी चयन

काठमाडौं : नेपाली पत्रकारितामा दीर्घकालीन, संस्थागत र अन्तर्राष्ट्रिय योगदान पुर्‍याएका तीन पत्रकारलाई देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिने भएको छ । यसैसँगै, उक्त पुरस्कार अबदेखि प्रत्येक वर्ष फेब्रुअरी १३ मा स्व. देवेन्द्र गौतमको जन्मजयन्तीका अवसरमा प्रदान गरिने निर्णय पनि गरिएको छ ।

देवेन्द्र गौतम पत्रकारिता पुरस्कार समितिका अनुसार यसअघि स्मृति दिवसमा प्रदान गरिँदै आएको पुरस्कार अब जन्मजयन्तीमा प्रदान गरिनेछ । करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका अध्यक्ष तथा स्व. देवेन्द्र गौतमकी धर्मपत्नी प्रदीपा गौतमको पहलमा यो परम्परामा परिवर्तन गरिएको हो ।

“स्मृतिदिवसभन्दा जीवन र योगदानलाई उत्सवका रूपमा सम्झनु उचित ठानेका छौं,” अध्यक्ष प्रदीपा गौतमले भनिन्, “देवेन्द्र गौतमले अँगालेका मूल्य र पत्रकारिताको भावना जीवित रहोस् भन्ने उद्देश्यले अब पुरस्कार जन्मजयन्तीका दिन प्रदान गरिनेछ ।”

यसपटक जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई नेपाली पत्रकारितामा पुर्‍याएको दीर्घकालीन र विशिष्ट योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ । निडर खोज पत्रकारिता, सम्पादकीय स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा उनको निरन्तर योगदानले नेपाली पत्रकारितालाई मजबुत बनाएको समितिको ठहर छ । उनलाई सम्मानपत्रसहित एक लाख रुपैयाँ प्रदान गरिनेछ ।

यस्तै, करेन्ट पब्लिकेशनमा ३५ वर्षभन्दा बढी समयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका प्राविधिक हरिबहादुर थापा मगरलाई संस्थागत स्थायित्व, निष्ठा र दीर्घ सेवाको कदरस्वरूप देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ । उनलाई सम्मानपत्रसहित ५० हजार रुपैयाँ प्रदान गरिने समितिले जनाएको छ ।

त्यसैगरी, चाइना न्युज सर्भिसका वरिष्ठ पत्रकार झाङ छनयी (चीन)लाई नेपाल–चीन सञ्चार सम्बन्ध र अन्तर्राष्ट्रिय पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै देवेन्द्र गौतम पत्रकारिता पुरस्कार २०२६ प्रदान गरिनेछ । उनले नेपालका राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिसम्बन्धी करिब तीन हजार समाचार, तस्बिर तथा भिडियो रिपोर्ट प्रकाशन गरेका छन्, जसले नेपालको अन्तर्राष्ट्रिय पहिचान विस्तारमा भूमिका खेलेको समितिले जनाएको छ । उनलाई सम्मानपत्रसहित ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।

नेपाली पत्रकारिताका अग्रणी व्यक्तित्व तथा नेपाल पोस्टका संस्थापक स्व. देवेन्द्र गौतमको स्मृतिमा स्थापना गरिएको यो पुरस्कार सत्य, निष्ठा, जनउत्तरदायित्व र दीर्घकालीन पत्रकारिता योगदानको सम्मान गर्ने उद्देश्यले प्रदान हुँदै आएको छ ।

अबदेखि पुरस्कार जन्मजयन्तीका दिन प्रदान गरिने भएकाले यसले स्मरणभन्दा उत्सव र शोकभन्दा प्रेरणाको सन्देश दिने अपेक्षा गरिएको छ । पुरस्कार वितरण समारोहसम्बन्धी विस्तृत कार्यक्रम पछि सार्वजनिक गरिने जनाइएको छ ।

सम्बन्धित खबर