
काठमाडौं : सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
समितिको संयोजकमा केन्द्रीय सचिव प्रेमदीप लिम्बु रहेका छन् भने सदस्यमा देवीप्रसाद संग्रौला र प्रेम थापा मगर छन् ।
अध्यक्ष प्रसाईंले सोमबार विज्ञप्तिमार्फत समितिको जानकारी दिएका हुन् । सरकारले २ पुसमा हुने छलफलका लागि वार्ता टोलीको नाम पठाउन आग्रह गरेपछि समिति गठन गरिएको हो ।
यसअघि महाअभियानले २७ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो । तीमध्ये तत्काल सम्बोधन योग्य विषयमा छलफल गर्न सञ्चारमन्त्री जगदीश खरेलको संयोजकत्वमा सरकारी समिति पनि गठन गरिएको छ ।