२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

‘सिस्टर्स मेडएड’ सञ्चालनमा, नर्सहरूको करियर विकास र रोजगारीमा सहकार्य गर्ने

shivam cement
२०८२ मंसिर २९ गते २०:१५
Shares
‘सिस्टर्स मेडएड’ सञ्चालनमा, नर्सहरूको करियर विकास र रोजगारीमा सहकार्य गर्ने

काठमाडौं : काठमाडौंस्थित सिटी सेन्टरको दोस्रो तलामा आइतबार ‘सिस्टर्स मेडएड’ औपचारिक रूपमा उद्घाटन गरिएको छ । नर्सहरूको करियर विकास, रोजगारी र परामर्श सेवामा केन्द्रित यो संस्थाको नेतृत्व रजिस्टर्ड नर्स सरिता प्रधानले सिइओका रूपमा गरेकी छन् । उद्घाटन कार्यक्रममा बोल्दै सिइओ प्रधानले नर्सिङ क्षेत्रमा पढाइप्रति घट्दै गएको आकर्षणलाई बढाउनु सिस्टर्स मेडएडको प्रमुख उद्देश्य रहेको बताइन् ।

उनले बेरोजगार नर्सहरूका लागि रोजगारीका अवसर सिर्जना गर्ने, विदेशमा रोजगारी गर्न चाहने नर्सहरूलाई आवश्यक परामर्श र सहयोग प्रदान गर्ने, लाइसेन्स तयारी, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन् । उनका अनुसार सिस्टर्स मेडएडले नर्सिङ पेशामा रहेर कसरी आफूलाई अघि बढाउने भन्ने विषयमा मार्गदर्शन गर्नेछ भने नर्सहरूले आफ्ना गुनासो र समस्याहरू खुलस्त राख्न सक्ने सुरक्षित प्लेटफर्मसमेत प्रदान गर्नेछ ।

नाम सिस्टर्स मेडएड भए पनि सेवा महिला र पुरुष दुवैका लागि समान रूपमा उपलब्ध हुने प्रधानले स्पष्ट पारिन् । प्रधानले विदेशमा रोजगारी गर्न चाहने नर्सहरूका लागि छात्रवृत्तिसहित विभिन्न कार्यक्रमहरू सञ्चालन गरिने बताउँदै अन्तर्राष्ट्रिय अवसरहरूबारे पनि परामर्श दिइने उल्लेख गरिन् ।

कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी मनास्लु इन्टरनेसनल सर्भिसेसका सञ्चालक बालकृष्ण श्रेष्ठले सिस्टर्स मेडएडसँग सहकार्य गरिने बताए । उनले वैदेशिक रोजगारमा नर्सहरूको माग उच्च रहेको बताउँदै विदेश गएपछि नर्सहरूले नेपालमा सिक्न नपाएका थप सीप र अनुभवसमेत हासिल गर्न सक्ने धारणा राखे ।

कार्यक्रममा नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तृतीय उपाध्यक्ष वैकुण्ठ पौडेल वैभवले सिस्टर्स मेडएडको सफलताको शुभकामना व्यक्त गरे ।

उद्घाटन कार्यक्रममा नयाँ तथा अनुभवी नर्सहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी नर्सहरूले आ–आफ्ना अनुभव र सुझाव राख्दै सिस्टर्स मेडएडको सफलताको कामना व्यक्त गरेका थिए ।

करियर विकास, रोजगारी र परामर्श सेवा आवश्यक परेमा आफ्नो संस्थामा सम्पर्क गर्न सबै नर्सहरूलाई सिस्टर्स मेडएडले आग्रह गरेको छ ।


सम्बन्धित खबर