
रौतहट : रौतहट जिल्लामै ठूलो उद्योगको रूपमा कटहरिया नगरपालिका–९ डुमरियामा बाबा बैजुनाथ सुगर एन्ड केमिक्लस इन्डस्ट्रिज सञ्चालमा आएको छ । सोमबार विधिवत् रूपमा मिलको डोंगा पूजा गरिएसँगै चिनीमिल सञ्चालनमा आएको हो । हिन्दू परम्परा अनुसार मन्त्रोच्चारणसहित मिलका निर्देशक अभय प्रकाश जैसवाल दम्पतीले डोंगा पूजा गरेका थिए ।
उखु क्रसिङ गर्नुअघि खरिद गरिएको उखु राख्ने ठाउँलाई मिल्सको भाषामा डोंगा भन्ने गर्दछन् । पूर्ण विधि विधान अनुसार डोंगालाई पूजा गरेर मिल सञ्चालन गरेमा वर्षभरि बिना बाधा राम्ररी सञ्चालन हुने धार्मिक मान्यता रहेको पाइन्छ ।
मिल सञ्चालनको क्रममा सोमबार सबैभन्दा पहिले मिलमा उखु ल्याएका गढिमाइ नगरपालिका–३ का एकजना किसान शिव श्याम बैठालाई निर्देशक अभय प्रकाश जैसवालले सम्मान गरेका थिए ।
बाबा बैजुनाथ चिनिमिल सञ्चालन भएदेखि नै घाटा बेहोर्दै आए पनि यसपटक २० लाख क्वीन्टलभन्दा बढी उखु क्रसिङ गर्ने लक्ष्यसहित सञ्चालन गरिएको चिनिमिल सञ्चालन समितिका अध्यक्ष बैजु बाबराले बताएका छन् ।
उनले विविध कारणले गत वर्ष मात्र साढे १२ लाख क्वीन्टल क्रसिङ गरी बन्द भएको थियो । गत वर्ष क्रसिङ भएको उखु बापतको किसानलाई सम्पूर्ण भुक्तानी भइसकेको उनले बताएका छन् । नेपाल सरकारले दिँदै आएको अनुदानको रकम भुक्तानी गरिसकेको अध्यक्ष बाबराले जानकारी दिएका छन् ।
साथै यस सिजनमा उखु खेती गर्ने किसानको सुविधाको सुविधा स्वरूप मिलले मलखाद, बीउ तथा ऋण स्वरूप खेती अनुसारको केही रकम समेत दिने योजना रहेको छ । समयमा भुक्तानी नपाएर विगतमा उखु खेती गर्न छोडिसकेका दर्जनौं किसानहरू मिलले नियमित भुक्तानी दिन थालेपछि पुनः उखु खेती गर्न थालेको उनले बताए ।
बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईन्डस्ट्रीज कटहरिया–९ डुमरियाका उखु महाप्रबन्धक सियाराम साहले मिल सञ्चालनको पहिलो चरण सोमबारदेखि उखु ल्याउन किसानलाई चलान पुर्जी वितरण सुरु भएको बताएका छन् ।
यस सिजनमा लक्ष्य अनुसारको उखु ल्याउनका लागि रौतहटका साथै छिमेकी जिल्लाहरू बारा र सर्लाहीका किसान तथा स्थानीय प्रशासनसँग सहमति भैसकेको साहले जानकारी दिए ।