२०८२ चैत २ गते सोमवार / Mar 16 , 2026 , Monday
२०८२ चैत २ गते सोमवार
Ads

शुक्लाफाँटाको बन्साहमामा बहुलाहा कुकुरको आतंक

shivam cement
२०८२ पुष १ गते ०८:४५
Shares
शुक्लाफाँटाको बन्साहमामा बहुलाहा कुकुरको आतंक

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतंक फैलिएको छ । बहुलाएको कुकुरले स्थानीय बासिन्दासहित एक दर्जनभन्दा बढी पशुचौपायालाई टोकेपछि रेविज फैलिने त्रास बढेको हो ।

शुक्लाफाँटा–१ का वडाध्यक्ष उत्तरदेव भट्टका अनुसार बहुलाहा कुकुरले दुई जना स्थानीय बासिन्दा, एक गाई र १३ वटा कुकुरलाई टोकेको छ ।
‘सोमबार बिहानदेखि बहुलाहा कुकुर अनियन्त्रित रूपमा सामुन्नेमा पर्ने जोकसैलाई टोक्दै हिँडेको थियो’, उनले भने, ‘प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आज साँझ अबेर नियन्त्रणमा लिन सफल भयौँ ।’

बहुलाहा कुकुर नियन्त्रणमा लिए पनि त्यसले टोकेका कुकुरमार्फत अन्य पशुचौपाया तथा मानिसलाई रेविज सर्ने जोखिम कायमै रहेको अध्यक्ष भट्टले बताए । ‘कुकुरले टोकेका व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइसकेका छौँ’, उनले भने, ‘टोकिने गाईलाई पनि रेबिजविरुद्धको सुई लगाइएको छ ।’

बहुलाहा कुकुरले टोकेका अन्य कुकुरको खोजीका लागि वडा कार्यालयबाट टोली परिचालन गरिएको छ। तर ती कुकुर फेला पार्न कठिनाइ भइरहेको वडाध्यक्ष भट्टले जानकारी दिए । ‘रेबिजविरुद्धको भ्याक्सिन खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छौँ’, उनले भने, ‘आज बिहानैदेखि वडा कार्यालयमार्फत कुकुरलाई रेविजको सुई लगाइनेछ ।’

स्थानीय बासिन्दाले बहुलाहा कुकुरले टोकेका कुकुरले अन्य कुकुर, पशुचौपाया तथा मानिसलाई टोक्ने जोखिम रहेकाले भयको अवस्था सिर्जना भएको बताएका छन् । बहुलाहा कुकुरलाई नियन्त्रणमा लिएर निगरानीमा राखिएको नगर प्रहरी प्रमुख पदमबहादुर ऐरले बताए ।

यसैबीच, वडा कार्यालयले बहुलाहा कुकुरले टोकेको शंका भएका कुकुर, गाईबस्तु तथा व्यक्तिका परिवारलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित खबर